बसाइँ सराइले रित्तिँदै गाउँ, घरमा जंगली जनावर

हिमाल प्रेस १ पुष २०८० ९:१५ | Sunday, December 17, 2023
बसाइँ सराइले रित्तिँदै गाउँ, घरमा जंगली जनावर बसाइँसराइका कारण रित्तिएकाे बागलुङकाे एक गाउँ। तस्बिर : रासस

बागलुङ-  खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन्। वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ। गाउँमा बुढापाकाबाहेक कोही छैनन्। युवाशक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन्।

एक दशक अगाडिसम्म रमाइलो गाउँबस्ती हिजोआज उराठलाग्दो बनेका छन्। विद्यालयमा विद्यार्थी घटिरहेका छन्। सेवा सुविधा घरदैलोमै पुगेका छन् तर सेवा सुविधाको उपभोग गर्ने मान्छे निकै कम छन्।

विकासले नछुँदा मान्छेको चहलपहल हुने गाउँ अहिले खाली हुँदै गएका छन्। दिनप्रतिदिन बजार झर्नेको सङ्ख्या बढ्दै गएपछि गाउँमा बस्नेलाई वन्यजन्तुले सास्ती दिन थालेका छन्।

सबैभन्दा बढी बाँदरले गाउँमा भएका वृद्धवृद्धालाई दुःख दिने गरेको पाइएको छ। जिल्लामा बसाइँसराइ गरी बजार झर्ने र विदेश जाने सङ्ख्या गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकामा बढी छ।

गाउँमा बस्ने बुढापाकाले काम गर्न सक्न छाडेपछि घरै छेउका खेतबारी झाडीमा परिणत हुँदै गएका छन्। यसका कारण बाँदरलगायतका वन्यजन्तु सजिलै घरमा छिर्ने गरेका छन्।

बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामानसमेत नष्ट गरिदिने गरेको छ। बढ्दो बाँदर आतङ्कका कारण स्थानीयले रोकथामको माग गरिरहेका छन्। केही पालिकाले बाँदर नियन्त्रणका लागि योजना तयार गरे पनि अहिलेसम्म कार्यान्वयन गर्न सकेका छैनन्।

गाउँमा जनसङ्ख्या कम हुँदै गएपछि बाँदर आतङ्क बढ्दै गएको काठेखोला गाउँपालिका-१ का लक्ष्मण थापाले बताए। पाँच वर्ष पहिलेसम्म जंगलमा मात्रै भेटिने बाँदर हिजोआज घरमै आएर सास्ती दिने गरेको उनको भनाइ छ।

हरेक वर्ष गाउँबाट बजार झर्नेको सङ्ख्या बढ्दै गएको र उनीहरूलाई गाउँमै रोक्न सक्ने योजना सरकारले ल्याउन नसकेको उनको गुनासो छ। विकास गाउँ उक्लने, मानिस सुविधा खोज्दै बजार झर्ने गरेको भन्दै सुनसान गाउँमा बाँदर र चितुवाले बासस्थान बनाउन थालेको उनले बताए।

रोजगार सिर्जना गरी बजार झरेकालाई गाउँमै फर्काउन सके बाँदर नियन्त्रण हुने थापाको भनाइ छ। बाँदर धपाउन अनेक जुक्ति लगाए पनि नसकेको उनी बताउँछन्।

‘पहिलेपहिले मान्छेहरूले गाउँ भरिन्थ्यो, एउटै घरमा १०–१२ जनासम्म मान्छे बस्थे, गाउँमै खेतीपाती गर्ने, वनजङ्गलमा पुगेर घाँस दाउरा गर्थे र पो बाँदर आउँदैनथ्यो, अहिले गाउँ सुनसान छ, बुढाबुढीमात्रै छन्, सुनसान ठाउँमा बाँदर, बाघ र भालु आउने नै भए’, उनले भने,‘अब सरकारले गाउँमा बजारको जस्तो सेवा सुविधा दिनेगरी काम गर्नुपर्छ, बजार झर्नबाट रोक्न सकेमात्रै बाँदर नियन्त्रण गर्न सकिन्छ नत्र बाँदरमात्रै होइन,अब गाउँ जंगली जनाबरको बासस्थानका बन्ने छ।’

जैमिनी-५ का पदम सुवेदीले बाँदरले बालीनाली सबै सखाप पर्दा लाखौँको नोक्सानी  बेहाेर्नुपरेको बताए। धेरै मान्छे बसाइँसराइ गरी अन्तै गएपछि गाउँमा अहिले थोरै सङ्ख्यामा मात्रै मान्छे रहेको उनको भनाइ छ।

गाउँमा बस्ने अधिकांशको जीविकोपार्जन खेतीपाती गरेर नै हुने भन्दै बारीमा लगाउने बालीनालीदेखि तरकारी सबै बाँदरले नष्ट गरिदिने सुवेदीले गुनासो पोखे। बालीनाली जोगाउन एक/दुईजना कुरुवा अनिर्वाय राख्नुपर्ने उनले बताए। आजभोलि बाँदर निकै चलाख र बाठो हुँदै गएपछि मान्छेलाई समेत नटेर्ने सुवेदी बताउँछन्।

जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि ‘मङ्की पार्क’ बनाउने योजना बनाएको छ। जैमिनी, काठेखोलालगायत जिल्लाभर बाँदर आतङ्क बढ्दो छ। बाँदर नियन्त्रणका लागि काठेखोला गाउँपालिकाले पनि जंगलमा फलफूलका बिरुवा रोप्ने योजना बनाएको गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलकले जानकारी दिए।

पछिल्लो केही वर्षयता बाँदरले धेरै किसान र ग्रामीण भेगका धेरै नागरिकलाई दुःख दिइराखेको भन्दै यस समस्या समाधान गर्नतर्फ गाउँपालिका गम्भीर भएर लागेको सुनाए।

‘बाँदर आतङ्क रोक्नका लागि पालिकामा धेरैपटक छलफल भएको छ,अहिले यसरी बाँदर आतङ्क बढेको मान्छेहरूले गाउँ छाड्नु प्रमुख कारण हो,अब गाउँपालिकाले जंगलमा फलफूलको बिरुवा रोप्ने र जंगलमै बाँदर भुलाउने खालको योजना बनाएका छौँ’, उनले भने, ‘विज्ञहरूसँग पनि बहस गरिरहेका छौँ,सुझाव लिइरहेका छौँ,ढिलोचाँडो उपाय निस्किन्छ,त्यसपछि हामीहरू नियन्त्रणमा लाग्छौँ।’ रासस

प्रकाशित: १ पुष २०८० ९:१५ | Sunday, December 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast