तरकारी बेचेरै आत्मनिर्भर बने दाङका थारु महिला

हिमाल प्रेस ३० मंसिर २०८० १२:३४ | Saturday, December 16, 2023
तरकारी बेचेरै आत्मनिर्भर बने दाङका थारु महिला

दाङ- दाङका थारु महिला सागसब्जी बेचेरै आत्मनिर्भर बनेका छन्। उनीहरू बिहान ४ बजेदेखि नै तुलसीपुरका विभिन्न चोकमा कठ्याङ्ग्रिने चिसोको परवाह नगरी छिटुवामा सागसब्जी राखेर ग्राहकको प्रतीक्षामा बसेका भेटिन्छन्।

चिसो सडकमा ग्राहकको पर्खाइमा बस्नेमध्येकी एक हुन् तुलसीपुर उपमहानगरपालिका–१० पड्डाकी ४० वर्षीया रामकुमारी चौधरी।

उनी व्यावसायिरूपमा काउली र आलुखेती गरेर आत्मनिर्भर बनेकी छन्। उनी भन्छिन्,‘सडकमा बसेर सागपात बिक्री गर्न थालेको वर्षौं भयो। यसबाटै जीवन गुजारा भएको छ। कृषिकर्मबाट राम्रो आम्दानी भएको छ।’

गाउँबाट राति २ बजे नै छिटुवा बोकेर कहिले पैदल त कहिले अटो चढेर आउने रामकुमारी पनि सडकमा कृषिउपज बेचेर आत्मनिर्भर भएकी छिन्। दैनिक गर्जो टार्न र आफ्ना छोराछोरीलाई शैक्षिक सामग्री किन्न कृषि आम्दानीले थेगेको छ।

पाँचकठ्ठा जमिनमा गरिने मौसमी र बेमौसमी खेतीबाट उनले वार्षिक दुईदेखि साढे दुई लाखसम्म बचत गर्दै आएको सुनाइन्। बचत रकमबाट नै उनले मल बीउबिजन, किटनाशक औषधी खरिद गर्दै आएकी छन्।

५३ वर्षीया आश्मानी चौधरीले पनि आफूलाई व्यावसायिक खेतीमा सक्रिय राखेकी छन्। १५ कट्ठा जमिनमा चमसुर, पालुङ्गो, गोलभेँडा फलाउने उनी धानभन्दा सागसब्जी उत्पादनबाट राम्रो आम्दानी लिन सफल भएको बताउँछिन्। उनले गत वर्ष तीन लाख आम्दानी गरेको बताइन्।

तुलसीपुर १६ की ४० वर्षीया राजपति चौधरी पनि १२ कट्ठा जमिनमा व्यावसायिकरूपमा सागसब्जी लगाएर आत्मनिर्भर बनेकी छन्। उनले वार्षिक साढे तीन लाखसम्म आम्दानी हुने गरेको बताइन्। सागपात बेचेर नै उनले आफ्ना दुई छोराछोरीलाई कृषि प्राविधि पढाएकी छन्। रासस

प्रकाशित: ३० मंसिर २०८० १२:३४ | Saturday, December 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast