बढ्यो ‘कालो सुन’ को भाउ, नेपाली अलैंची भारतीय ब्रान्डमा बिक्री

रमेश भारती २८ मंसिर २०८० ११:४८
128
SHARES
बढ्यो ‘कालो सुन’ को भाउ, नेपाली अलैंची भारतीय ब्रान्डमा बिक्री अलैंची बारी। फाइल तस्बिर

काठमाडौँ- सात वर्षपछि अलैँचीको मूल्य बढेको छ। पछिल्ला वर्षमा अलैँचीको मूल्य निरन्तर ओरालो लाग्दै आएको थियो। कुनै बेला एक मन (४० केजी) को एक लाख २० हजार रुपैयाँसम्ममा किनबेच भएको अलैंचीलाई खोल्सीको कालो सुन भनिन्छ। अहिले प्रतिमन ७४ हजार रुपैयाँमा करोबार भएको छ।

अलैंची व्यवसायी महासंघका अनुसार अलैंचीको यो मूल्य सात वर्षयताकै उच्च हो। सात वर्षयता अलैंचीमो मूल्य प्रतिमन ४० हजार रुपैयाँभन्दा माथि पुगेको थिएन। यस वर्ष भने भदौदेखि नै प्रतिमन ५० हजारभन्दा बढीमा कारोबार भएको महासंघले  जनाएको छ। यद्यपि पर्याप्त वर्षा नहुँदा विभिन्न रोगको संक्रमणका कारण उत्पादन थोरै भएको व्यसायी बताउँछन्।

सरकारले अलैंची व्यवसायीलाई बेवास्ता गर्दा किसानमा निराश छाउन थालेको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईको आरोप छ। सात वर्षअघि प्रतिमन लाख नाघेको अलैंचीको भाउ हजारमा झर्दासम्म सरकारले यसको बजार खोज्न चासो नदिएको उनले बताए। यसबाट व्यवसायी र किसान मर्कामा परेका थिए। ‘लामो समयदेखि गोदाममा राख्दा ढुसी पर्ने र गुणस्तर खस्कन थालेको छ। तर सात वर्षपछि अलैंचीको भाउ आएको छ। विगतमा तुलनामा अहिले अलैंची उत्पादन भएको छैन।’

अलैंचीको नयाँ फल टिप्ने सिजन सकिएसँगै यसको मूल्य बढेका कारण किसानले अलैंची बिक्री गर्नसमेत छाडेको उनको भनाइ छ।

पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन भएको अलैंची गत वर्ष प्रतिमन ३१ हजार रुपैयाँमा व्यापार भएको थियो। अलैंचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ। गत वर्ष क ग्रेडको अलैंची ३१ हजार, ख ग्रेडको २९ हजार र ग ग्रेडको २६ हजारमा व्यापार भएको थियो। यस वर्ष सबै तहको अलैंची ६० हजारमाथि बिक्री भइरहको महासंघले जनाएको छ।

अलैंची पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत हो। अरू अन्न नफल्ने भिरालो खोल्सा र पाखा भित्तामा पनि उत्पादन हुने भएकाले यसलाई ‘खोल्साको सुन’ भनेर पूर्वी पहाडका किसानले उत्पादन गर्दै आएका छन्।

भारत पुगेपछि भाउ बढ्छ

भारत सरकारले लागू गरेको वस्तु तथा सेवा कर (जीएसटी) का कारण पनि नेपाली अलैंची निर्यातमा समस्या भोग्नुपरेको महासंघका पदाधिकारी बताउँछन्।

भारतीय अलैंचीमा मिसावट भएपछि अन्तर्राष्ट्रिय ट्रेडमार्क प्रक्रियासमेत रोकिएको छ। यसको मारमा नेपाली अलैंची गरेको महासंघका सदस्य कुमार तामाङ बताउँछन्।
विश्वबजारमा गुणस्तर र उत्पादन दुवै दृष्टिकोणबाट राम्रो मानिने नेपाली अलैंचीको खस्कँदो मूल्यका कारण सबैभन्दा बढी किसान मर्कामा परेका छन्। यसको मुख्य समस्या भनेको नेपाली अलैंची भारतीय अलैंचीसँग मिसावट गरेर व्यापार गर्नु रहेको तामाङले बताए।

नेपालका ताप्लेजुङ पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, लमजुङ र गोरखासहित २२ जिल्लाममा अलैंची उत्पादन हुने गरेको छ। ताप्लेजुङ पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा र भोजपुरका किसानको मुख्य नगदेबाली अलैंची हो।

नेपाली अलैंची भारतसहित, पाकिस्तान, यूएई, कतार, साउदी, मलेसिया, श्रीलंका, अमेरिका, क्यानडा र युरोपेली देशमा निर्यात हुँदै आएको छ। नेपाली अलैंचीको भाउ भारतीय बजारमा पुगेपछि १० हजार फरक पर्ने व्यवसायी बताउँछन्। नेपालमा प्रतिमन ७४ हजारमा बिक्री भएको अलैंची भारतमा पुगेपछि ८० हजारभन्दा बढीमा बिक्री हुन्छ।

नेपालमा उत्पादित अलैंची भारतबाट इलमी, हिमाली र भारत ब्रान्डबाट विदेशी बजारमा व्यापार हुने गरेको छ। नेपालमा उत्पादन भएको अलैंची भारतीय बजारमा पुगेपछि त्यहीको ब्रान्डको लोगो प्रयोग गरेर विदेशी बजारमा पुग्ने गरेको व्यवसायीको गुनासो छ। नेपालमा यस्तो अलैंची उत्पादन हुन्छ भनेर विदेशी व्यापारीलाई जानकारीसमेत छैन।
विदेशी बजारमा मसलाको परिकार, बेकरी सामग्री, सुगन्धित तेल, टिन्चर बनाउन र रक्सी उत्पादनमा अलैंची प्रयोग हुन्छ।

नेपालमा सिंहदरबार वैद्यखाना र आयुर्वेदिक औषधि निर्माणका लागि अलैंची प्रयोग गरिन्छ। जडीबुटी कम्पनीले अलैंची प्रयोग गरेर रक्तशोधक, शक्तिवर्द्धक, दम र खोकी आदिको औषधिमा बनाउँछन्।

नेपालमा १५ हजार चार सय हेक्टर जमिनमा अलैंची खेती भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। बर्सेनि करिब ७ हजार मेट्रिकटन अलैंची उत्पादन भइरहेको छ। यसबापत वार्षिक करिब ९ अर्बभन्दा बढीको अलैंची व्यापार हुने गरेको मन्त्रालयको तथ्यांक छ।

प्रकाशित: २८ मंसिर २०८० ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast