सरकार गैरजिम्मेवार भयो : केपी ओली

हिमाल प्रेस २१ मंसिर २०८० १५:०७ | Thursday, December 7, 2023
सरकार गैरजिम्मेवार भयो : केपी ओली

काठमाडौँ-  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन्।

बिहीबार मेची—महाकाली अभियानअन्तर्गत वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताए। अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनुपर्ने बताए। उनले अहिलेको सरकारले स्वाधिनता कमजोर बनाएको र विकासका कामहरू ठप्प पारेको अरोप लगाए। उनले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे।

‘यो सरकार लज्जाबोध नभएको सरकार हो। यसले राष्ट्रघाती काम गर्छ। यसले देशको इज्जत समाप्त पार्छ। यसले स्वाधिनता कमजोर पार्छ। स्वतन्त्रताको प्रयोग गर्न सक्दैन। राष्ट्रिय हीतको रक्षा गर्न सक्दैन। भूमिको बारेमा बोल्न सक्दैन। यस्तो सरकार हो। विकासका कामहरू एमालेको समयमा जुन भएका थिए,’ उनले भने, ‘ति विकासका कामहरू ठप्प छन्। तैपनि यस्तो सरकार चलिरहेको छ। सरकार हौँ भनेर बसिरहेको छ। चल्न त के चल्नु र बसिरहेको छ। अर्थतन्त्र ध्वस्त भएको छ, महंगी बढेको छ, युवा पलायन भइरहेका छन्, देश कमजोर हुँदै गएको छ, बैंक र ऋणीहरूको सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको छ।’

अहिलेको सरकार असफल भएको भन्दै उनले नेताहरू लाज पचाएर सरकारमा बसिरहेको पनि आरोप लगाए। ‘अहिलेको सरकार असफल मात्रै होइन, चरम असफल सरकार हो। यो त गैरजिम्मेवार भएर, इमान नभएर मात्रै सरकारमा बसिरहेको छ, नत्र राजीनामा गरेर घर जानुपर्ने सरकार हो,’  उनले भने, ‘यो त सरकारमा बसिरहन लाज नमानेर, लाज नलागेर कसरी बसिरहेको छ सरकारमा अचम्म लाग्दो छ। देशको राजनीतिक अस्थिरता बढ्दो छ। अराजकता बढ्दो छ। जनतामा निराशा र अन्योल बढ्दो छ, युवाहरू पलायन भइरहेका छन्, अर्थतन्त्र ध्वस्त हुँदै गएको छ, कर्मचारी पाल्नका लागि आन्तरिक ऋण उठाएर पाल्नुपरेको छ। त्यही पनि पहिलो चौमासिकमा। पहिलो चौमासिक, जतिबेला सबैभन्दा बढी पसा संकलन हुन्छ।’

अध्यक्ष ओलीले ऋण उठाएर कर्मचारी पाल्नुपर्ने बाध्यता अहिलेको सरकारले निर्माण गरेको बताए।

प्रकाशित: २१ मंसिर २०८० १५:०७ | Thursday, December 7, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast