काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन्। कोप–२८ मा सहभागी भएर आज (आइतबार) स्वदेश फर्किएका उनले मन्त्रिपरिषद्मा हेरफेरको चर्चामा कुनै सत्यता नभएको बताएका हुन्।
‘अहिले नै मन्त्रिपरिषद् पुनर्गठनको कुनै सम्भावना छैन,’ विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा उनले भने, ‘वर्तमान सरकार गठन भएदेखि नै यस्तो चर्चा चलेको छ, तर यसमा कुनै सत्यता छैन।’
पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘कोप’ २८’ प्रभावकारी र परिणाममुखी भएको बताए। यसपटक नेपालले आफ्ना ‘एजेन्डा’ प्रभावकारी र वस्तुनिष्ठ ढंगले प्रस्तुत गरिएको समेत उनले दाबी गरेका छन्।
जलवायु वित्तमा नेपाल प्राथमिकता प्राप्त देशको सूचीमा परेकाले आर्थिक एवम् प्राविधिक सहयोग प्राप्तिमा वृद्धि हुने अपेक्षा गरिएको उनको भनाइ छ।