भूकप्पपीडितलाई आवास निर्माणका लागि दोस्रो किस्ता दिन ढिला गरिँदैन : गृहमन्त्री श्रेष्ठ

हिमाल प्रेस १४ मंसिर २०८० १६:२१ | Thursday, November 30, 2023
भूकप्पपीडितलाई आवास निर्माणका लागि दोस्रो किस्ता दिन ढिला गरिँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूलाई अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ताको रकम दिन ढिला नगरिने बताएका छन्।

बिहीबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले भूकम्प प्रभावितहरूलाई अस्थायी आवास निर्माणका लागि दिइने ५० हजार रुपैयाँमध्ये पहिलो किस्तामा नगदै २५ हजार रुपैयाँ दिइने बताए।

उनले पहिलो किस्ता बुझेर आवास निर्माणको काम शुरु गर्नासाथै बाँकी २५ हजार रुपैयाँ बैंकमार्फत दिइने बताए। दोस्रो किस्ता दिनका लागि पनि कुनै ढिलाइ नहुने उनले स्पष्ट पारे।

उनले दुई किस्तामा दिइने भए पनि समयको ग्याप धेरै नहुने भएकाले एकै किस्ता दिए जसरी नै रकम प्रदान गरिने उल्लेख गरे।

उनले भने ‘५० हजार नै एकैचोटी दिनु किन नहुने? त्यसो गर्दा अलि सरल हुन्थ्यो कि भन्नेछ। त्यसमा हाम्रो सानो कुराले गर्दाखेरी हामीले नगरेको। तर हामीले एकैचोटी दिने जस्तैजस्तै गरेका छौँ। एकैचोटी जस्ता त राख्दैनौँ नि। घर बनाउने अलिकति मेसो, केही न केही घर बनाउन लागेको जस्तो देखियो भने एक दिनमा हामी जुन पैला २५ हजार दिन्छौँ। भोलि, पर्सिपल्ट नै माग्यो भने अर्को २५ हजार दिइहाल्छौँ। घर बनाउन थाल्यो, अस्थायी आवास भन्ने केही त देखौँ भन्ने एउटा कुरा। दोस्रो, पहिलो किस्ता खाता छैन भने नगदमै जाओस्। पछिल्लो किस्ता खातामा जाओस्। भनेर यो खाताको समस्या हल गर्न पनि हो। तर त्यो चाहीँ एक किस्ता जस्तै हुन्छ।’

गृहमन्त्री श्रेष्ठले अस्थायी आवास निर्माणका लागि मात्रै ५ अर्ब रुपैयाँ चाहिने बताए। उनले पुनर्निमाणको सम्बन्धमा आँकडा बनाएर दाता राष्ट्रहरू र दातृ निकायहरूसँग छलफल गरी योजना बनाएर काम गर्ने बताए।

बैठकमा बोल्दै गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले जाजरकोटमा टेन्ट १ हजार ६३४ वटा, त्रिपाल ४१ हजार ४०२, ब्याङ्क्वेट ३१ हजार ६५४, म्याट्रेस १३ हजार ४९२ र स्लिपिङ ब्याग २ हजार ४८५ पठाइएको जानकारी दिनुभयो। त्यस्तै रुकुम पश्चिममा ८०३ वटा टेन्ट, त्रिपाल २२ हजार २५०, ब्ल्याङ्केट ६ हजार १७, पि फम ५ हजार २०१ वटा र स्लिपिङ ब्याग १ हजार ३१४ वटा पठाइएको बताए।

उनले हालसम्म आवास निर्माणका लागि जाजरकोटमा ५५ करोड, रुकुम पश्चिममा ५५ करोड, बझाङमा २५ करोड, बाजुरामा १४ करोड, सल्यानमा २ करोड रुपैयाँ गरी जम्मा १ अर्ब ५१ करोड रुपैयाँ पठाइएको जानकारी दिए।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी कुल १५४ जनाको मृत्यु र ३६६ जना घाइते भएका उनले जानकारी दिए। जाजरकोटमा पूर्ण क्षति भएको घरको संख्या ९ हजार ७९४ र आंशिक क्षति २४ हजार घरमा भएको सचिव भट्टराईले बताए।

रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण क्षति, ९ हजार ९६१ आंशिक क्षति हुनुका साथै १६ वटा सार्वजनिक भवन पूर्ण क्षति र २१ वटा आंशिक क्षति भएको जनाइएको छ। त्यस्तै रुकुम पूर्वमा १५० घर, सल्यानमा ६ सय बढी घर, रोल्पामा १०० बढी घर र प्युठानमा ३१ घरमा क्षति भएको उनले बताए।

प्रकाशित: १४ मंसिर २०८० १६:२१ | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast