इटहरीमा रोकिएन हात्ती आक्रमण, ज्यानै लिएपछि परिवारमा रोदन

विवेक विवश रेग्मी १४ मंसिर २०८० १३:१५
120
SHARES
इटहरीमा रोकिएन हात्ती आक्रमण, ज्यानै लिएपछि परिवारमा रोदन हात्ती आक्रमणमा परी निधन भएका इटहरी उपमहानगरपालिका-२ का रवीन खड्काको घरमा भेला भएका आफन्त। इन्सेटमा रवीनको तस्बिर। तस्बिर : विवेक विवश रेग्मी

इटहरी– इटहरीमा बर्सेनि हात्तीले दुःख दिन थालेपछि स्थानीयवासी पिरोलिँदै गएका छन्। हात्तीको बथान बस्तीमा पस्ने क्रम नरोकिएपछि समस्या बढ्दै गएको हो। इटहरी उपमहागरपालिका-२ मा हात्ती आक्रमणमा परी बुधबार स्थानीय २६ वर्षीय रवीन खड्काको मृत्यु भएपछि स्थानीयवासी दीर्घकालीन समाधान खोज्न प्रशासन गुहार गर्न थालेका छन्। बूढासुब्बा चोक नजिकै हात्ती आक्रमणबाट खड्काको मृत्यु भएको थियो।

मृतकका बुबा मधु खड्काका अनुसार रातको समयमा आएका हात्तीको बथान खेदाउन जाने क्रममा रवीनलाई हात्तीले आक्रमण गरेको थियो। ‘घरको जेठो छोरा हो, घर चलाउने उमेरमै गुमाउनुपर्‍यो,’ उनले भने, ‘गाउँका सबैजना जाँदा जानैपर्‍यो। घरगाउँमा हात्ती पस्न नदिनका लागि खेदाउन जाँदा नसोचेको घटना भयो।’

दुई वर्ष वैदेशिक रोजगारमा बसेर अघिल्लो पुसमा मात्रै आएको र अहिले फेरि वैदेशिक रोजगारमै जान लागेका रविनको हात्ती आक्रमणपछि परिवारमा बज्रपात परेको उनले सुनाए। घटनापछि बाबु मधु, आमा कमला खड्का र मृतककी श्रीमती रेनुका राईसहित स्थानीय शोकमा डुबेका छन्।

‘घरबाट नजा भनेर भने पनि गाउँले सबै गएपछि गएको थियो,’ आमा कमला खड्काले रुँदै भनिन्, ‘हात्तीको हुल नै थियो। हात्ती गाउँ पस्ला भन्ने डर भयो। हात्ती धपाउन गएको छोरालाई हात्तीले नै लग्यो, सधैँका लागि।’

उनका अनुसार तीन छोरी र दुई छोरामध्ये रवीन जेठा छोरा हुन्। साउदी अरबबाट आएर विवाह गरेका रवीन फेरि वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा थिए। ‘फेरि विदेश जाने तयारी थियो,’ खड्काले भनिन्, ‘अब कमाउँला, केही गर्ला भन्ने उमेरमा गुमाउनुपर्‍यो।’

पाँच दिनयता हात्तीको बथान आएपछि आफूहरू रातभर जाग्राम बस्दै आएको स्थानीय रोशन अधिकारीले बताए। ‘साँझ साढे ५ बजेदेखि हात्तीको समूह आउँछ। हात्ती धपाउन हामी गाउँभरका मान्छे रातभर जागा बस्छौँ,’ उनले भने, ‘जाडो मौसममा त रातभरि बस्दा दाउराको जोहो गर्न पनि समस्या छ।’

आफूहरूले हरेक वर्ष हात्ती धपाउन रातभर जागा बस्नुपर्ने उनको भनाइ छ। ‘झापाको बाहुनडाँगीजस्तै हात्तीको बथान आउन थालेपछि समस्या भएको छ। संघीय, प्रदेश र स्थानीय तहले हात्तीको समस्या समाधान गर्नका निम्ति पहल गर्नुपर्छ,’ उनले भने, ‘साँझ पर्नेबित्तिकै हात्ती आउँछ। यस वर्ष २६ वटा हात्ती आएका छन्।’

हात्तीबाट बच्न दीर्घकालीन समाधान खोज्न सम्बन्धित क्षेत्रले चासो देखाउनुपर्ने उनको भनाइ छ। गत वर्षभन्दा यस वर्ष हात्तीको संख्या बढेको उनले बताए। उनीहरू हात्तीको समस्याबाट हरेक वर्ष पिरोलिँदै आएका छन्। हात्तीलाई गाउँमा पस्न नदिन सुरक्षाकर्मी, वनरक्षकलगायत आवश्यक पर्ने अधिकारीले बताए।

घटनास्थल पुगेका इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले समस्या समाधानका निम्ति तत्काल पहल गर्ने बताए। सामुदायिक वनका कर्मचारीले वास्ता नगरेको स्थानीयले गुनासो गरेपछि मेयर पौडेलले जिल्ला वन प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखसहित कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाईसमेत समस्या राखेका छन्।

हात्तीको समूहलाई नियन्त्रण लिन वा धपाउनका निम्ति स्थानीय तहसँग कुनै सयन्त्र नभएको मेयर पौडेलले बताए। ‘हात्तीको आक्रमणबाट जोगाउन स्थानीय तहसँग कुनै सयन्त्र छैन,’ उनले भने, ‘वन कार्यालयसँग समन्वय गरेर के गर्न सकिन्छ, त्यसबारे निर्णय गर्छौँ।’ उनले साइरन जडान, बत्ती जडानजस्ता कुरामा भने उपमहानगरले काम गरिरहेको बताए। उनले भने, ‘हात्तीबाट इटहरीका जनता जोगाउनका निम्ति वन कार्यालयसहित सबै क्षेत्रको संयन्त्र प्रयोग गरिनेछ।’

पौडेलले हात्ती आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई उपमहानगरले एक लाख रुपैयाँ दिने वचन दिएका छन्।

हात्तीले किन आक्रमण गर्छ?

राष्ट्रिय प्रकृति संरक्षण कोष कोशीका प्रमुख वीरेन्द्र गौतमका अनुसार हात्ती ‘इगो’ लिने जनावरभित्र पर्छ। हात्तीलाई जिस्काउनु र ढुंगामुढा गर्नु हुँदैन। यसो गर्‍यो भने आक्रमण गर्न सक्ने गौतम बताउँछन्। ‘समूहमा आएको हात्ती केही समय बस्छन् र केही समयभित्रै जताबाट आएको त्यतै जान्छन्,’ उनले भने, ‘जंगलमा खानेकुरा नभएकाले हात्ती गाउँ छिरेको हो।’

हात्तीले खानेकुरा कहाँ छ भनेर गन्धले थाहा पाउँछ। त्यसैले पनि हात्ती बस्तीमा छिरेको हुन सक्ने उनको आकलन छ। ‘होहल्ला नभएको अवस्थामा हात्ती फर्किन्छ। तर खानेकुरा भेटेर यतै रमाउँदा समस्या पनि हुन सक्छ। हात्तीलाई जिस्काउनु र ढुंगामुढा गर्नु हुँदैन। उसलाई चोटपटक लाग्यो भने ज्यानै लिन पनि सक्छ’, उनले भने। हरेक वर्ष भारतबाट हात्तीको बथान नेपाल आउने गरेको जानकारहरू बताउँछन्। हात्तीको स्मरण शक्ति तेजिलो हुने भएकाले पहिला बसेको वासस्थानमा वर्षौँँपछिसम्म जान सक्छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार हात्ती संरक्षित जनावर हो। अन्तर्राष्ट्रिय संरक्षण संघले हात्तीलाई रातो सूचीको ‘संकटापन्न’ र साइटिसले अनुसूची १ मा राखेको छ।

स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सामुदायिक वनमा जंगली जनावरले खाने अन्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी गरेको अवस्थामा प्रायः जंगली जनावर मानव बस्तीमा नपस्न विज्ञहरूको भनाइ छ।

प्रकाशित: १४ मंसिर २०८० १३:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast