नेटफ्लिक्समा इतिहास रच्दै कमेडियन क्रिस रक

हिमाल प्रेस १ मंसिर २०७९ १२:०४ | Thursday, November 17, 2022
नेटफ्लिक्समा इतिहास रच्दै कमेडियन क्रिस रक

काठमाडौँ- अमेरिकी स्ट्यान्ड-अप कमेडियन क्रिस रक नेटफ्लिक्समा प्रत्यक्ष प्रस्तुति (लाइभ पर्फमेन्स) दिनेछन्। यसरी प्रत्यक्ष प्रस्तुति दिने उनी पहिलो हास्यकलाकार बन्नेछन्।

नेटफ्लिक्सको इतिहासमा कुनै हास्यकलाकारले पहिलोपटक प्रत्यक्ष प्रस्तुति दिनेछ। २०२३ मा सुरु हुने कमेडी सो विश्वव्यापी रूपमा देखाइनेछ। सोको पहिलो दिन क्रिसले प्रत्यक्ष प्रस्तुति दिने नेटफ्लिक्सले घोषणा गरेको छ। सो कमेडी सोका लस एन्जलसभरि २ सय ९५ सो हुनेछन्। जसमा तीन सयभन्दा बढी कमेडियन सहभागी हुनेछन्।

क्रिस रक अहिलेका सबैभन्दा प्रतिष्ठित र महत्त्वपूर्ण कमेडियन भएको नेटफ्लिक्सको कमेडी सोका उपाध्यक्ष रोबी प्रोले भनेका छन्। ‘क्रिस हाम्रो पुस्ताका सबैभन्दा प्रतिष्ठित र महत्त्वपूर्ण कमेडियनमध्ये एक हुन्,’ उनले भनेका छन्, ‘हामी पूरै विश्वले उनलाई लाइभ हेरून् भन्ने चाहन्छौँ।’

नेटफ्लिक्सको इतिहासमा प्रत्यक्ष प्रस्तुति दिने क्रिस पहिलो हास्यकलाकार हुने उनले खुलाएका छन्। ‘यो हाम्रो लागि एक अविस्मरणीय क्षण हुनेछ,’ उनले भनेका छन्, ‘क्रिसले हाम्रो प्रस्ताव स्वीकार गरेकोमा हामी धेरै सम्मानित महसुस गरिरहेका छौँ।’

क्रिस ९४ औँ अस्कर अवार्ड समारोहयता चर्चामा छन्। अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलेसको डोल्बी थिएटरमा भएको सन् २०२२ को अस्कर अवार्ड कार्यक्रम क्रिसले ‘होस्ट’ गरेका थिए। समारोहमा उनी र हलिउड अभिनेता विल स्मिथबीच भएको ‘थप्पड काण्ड’ले निकै चर्चा पाएको थियो।

अस्कर अवार्ड समारोहमा विलले क्रिसलाई थप्पड हानेका थिए। किनकि क्रिसले विलकी श्रीमती जाडाको मुडुलो टाउकोमाथि ठट्टा गरेका थिए। जाडा कपाल झर्ने समस्याबाट पीडित छन्। क्रिसको असंवेदनशील व्यवहारबाट रिसाएका विलले अस्करको मञ्चमै उक्लेर उनलाई थप्पड हानेका थिए।

प्रकाशित: १ मंसिर २०७९ १२:०४ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast