रुपन्देहीको मर्चवारमा गहुँको बिउ प्रशोधन केन्द्र सञ्चालनमा

हिमाल प्रेस १० मंसिर २०८० ८:२५ | Sunday, November 26, 2023
रुपन्देहीको मर्चवारमा गहुँको बिउ प्रशोधन केन्द्र सञ्चालनमा बिउ प्रशोधन केन्द्र उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसाल। तस्बिर : हिमाल प्रेस

लुम्बिनी- रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा गहुँको बिउ प्रशोधन तथा भण्डारण केन्द्र सञ्चालनमा ल्याइएको छ। मर्चवारको २० प्रतिशत क्षेत्र समेट्ने गरी कोटहीमाई गाउँपालिका–४ तुनिहवामा प्राथमिक प्रशोधन एवं भण्डारण केन्द्र बनाइएको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय, भैरहवा, कोटहीमाई गाउँपालिका र श्री नवदुर्गा स्वालम्बन बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त ९२ लाख ९१५ रुपैयाँ लागतमा बिउ प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको हो।

प्रशोधन केन्द्रको कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भुसालले कृषि नेपालीको जीवन भएको जनाए। ‘नलगाएर र नखाएर बाँच्न सकिँदैन, त्यसैले कृषि हाम्रो जीवनचक्र र जीवन हो’,उनले भने,‘यसैले सरकारले कृषि क्षेत्रबाट उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्नुपर्छ भनेर लागेको छ।’

भुसालले सरकार सधैँ किसानलाई प्रोत्साहन गर्न लागेको बताउँदै कृषि उत्पादन खपत र संकलनका लागि उद्योगको स्थापनालाई समेत जोड दिइएको जनाए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय भैरहवाका प्रमुख नारायण काफ्लेले मर्चवारको २० प्रतिशत क्षेत्र ओगट्ने गरी प्राथमिक प्रशोधन एवं भण्डारण केन्द्रको स्थापन गरिएको बताए।

प्रशोधन केन्द्र सञ्चालनमा आएपछि भारतीय कमसल बिउको प्रयोग रोकिने र उत्पादन र उत्पादकत्व वृद्धि हुने उनको भनाइ छ ।

सहकारीका अध्यक्ष दुर्गाप्रसाद कुर्मीले यस्तै प्रशोधन केन्द्र अझै एक दुईवटा थपेमा जिल्ला नै भारतीय बिउबाट मुक्त हुने बताए।

रुपन्देहीको कोटहीमाई, मर्चवारी, सम्मरीमाई तथा मायादेवी गाउँपालिका एवं लुम्बिनी सांस्कृतिक नगरपालिकाका केही वडाहरू मिलाएर मर्चवार क्षेत्र बनेको छ।

यहाँ करिब ६ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ। प्रतिहेक्टर करिब साढे तीन मेट्रिक टन गहुँ उत्पादन हुँदै आएको छ।

प्रकाशित: १० मंसिर २०८० ८:२५ | Sunday, November 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast