काठमाडौँ- युवा संघ दुर्गा प्रसाईका समर्थकबीच काठमाडौँमा झडप भएको छ। बल्खुमा प्रसाई समर्थकले प्रदर्शन गर्ने ठाउँमा युवा संघका कार्यकर्ता पुगेपछि झडप भएको हो। अहिले ढुंगामुढा भएको छ। युवा संघका कार्यकर्ताले प्रसाईका समर्थकलाई हातपात गरेपछि झडपको सिर्जना भएको हो।
युवा संघका कार्यकर्ताले सडकमा हिँडिरहेका सर्वसाधारणमाथि पनि हातपात गरेका छन्। यस्तै उनीहरूले सवारी तोडफोड गरिरहेका छन्। कीर्तिपुरबाट तीनकुने आउँदै गरेका युवा संघका कार्यकर्ताले बल्खुमा भेला भएका प्रसाई समर्थकमाथि आक्रमण गरेका हुन्।
प्रसाई समर्थकले काठमाडौँको बल्खुमा र युवा संघले कोटेश्वर तीनकुनेबाट प्रदर्शन गर्ने तयारी छ। प्रदर्शनकारीहरू विभिन्न चोकबाट प्रदर्शनस्थल तर्फ नाराबाजी गर्दै अगाडि बढेका छन्।
जुलुस प्रदर्शनका कारण काठमाडौँको ट्राफिक व्यवस्थापनमा पनि समस्या देखिएको छ। दुवै पक्षको झडपको स्थिति हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।





