काठमाडौँ- भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको लागि नेपाली कांग्रेसको पहिलो टोली जाजरकोट पुगेको छ। सांसद समेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा रहेको टोलीले नलगाड नगरपालिकाको वडा नं ४ र ५ मा सय वटा अस्थायी आवास बनाउने छ।
सो टोलीले सयवटा घर निर्माण गर्नेछ। टोलीमा नेता पौडेलसहित गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी, इन्जिनियर दिपक कँडेल, तरुण दल केन्द्रीय सदस्य भागवत रेग्मी, पुष्प वस्नेत, नेविसंघ नेता सुशील भट्ट, सुवास घिमिरेलगायतका नेता कार्यकर्ता जाजरकोट पुगेका छन्। टोलीमा जनशक्ति स्थानीय स्वयंसेवक सहित डेढ सय व्यक्ति छन्।
अस्थायी आवास बनाउदा अत्यावश्यक व्यक्तिहरुलाई प्राथमिकतामा राखिने नेता पौडेलले बताए।
‘जोखिममा रहेको परिवार, बिरामी रहेका, एकल महिला भएको परिवार, वृद्धवृद्धा रहेका परिवारले पैसा पाए पनि अस्थायी आवास बनाउन जनशक्ति पाउने अवस्था रहँदैन त्यस्ता परिवारलाई प्राथमिकतामा राखिनेछ’, पौडेलले भने, ‘स्थानीय सरकारसँग समन्वय गरेर त्यस्ता परिवार पहिचान गरी घर बनाउन स्वयंसेवक परिचालन गर्छौं।’