वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै

हिमाल प्रेस १ मंसिर २०८० ९:४४ | Friday, November 17, 2023
वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै

सुनसरी- सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा कात्तिके हरिबोधिनी एकादशी मेलाको तयारी पूरा भएको छ।

प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मंसिर ७ गतेदेखि मंसिर ११ गते पूर्णिमासम्म लाग्ने छ।

वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार मेलाका लागि बजार, कोशी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानीलगायत उपसमिति गठन गरिएको छ। मेलाका लागि संरक्षण मञ्चले स्वास्थ्यको जिम्मेवारी वराहक्षेत्र उपस्वास्थ्य चौकीलाई, खानेपानीको जिम्मेवारी वराहक्षेत्र मन्दिर खानेपानी समितिलाई, सरसफाइको जिम्मेवारी वराहक्षेत्र वातावरणीय सरसफाइ संस्थालाई, सुरक्षाको जिम्मेवारी प्रहरी चौकी वराहक्षेत्र, इलाका प्रहरी कार्यालय चतरा महेन्द्रनगरलाई दिएको छ।

मेला भर्नका लागि आउने भक्तजनका लागि नदीमा सुरक्षित स्नानका लागि बाँसको बार, उज्यालोका लागि बिद्युत्को व्यवस्थापनलगायतका कार्य पूरा गरेको उनले बताए। मेलाका लागि बगर सम्याउने, रङ लगाउने, मन्दिर श्रृंगार्ने र नियमित सरसफाइ गर्ने कार्य गरेको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए।

छठका लागि बाँसको सामग्री बनाउँदै मरिक समुदाय

मिथला क्षेत्रमा मनाइने छठ पर्वका लागि यहाँको मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त छ। सुनसरीको हरिनगरसहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने मरिक समुदाय बाँसका सामग्री बनाउन जुटेको छ।

मरिक समुदायका बासिन्दाले छमा प्रयोग हुने कोनियाँ, ढाकी, नाङ्लोलगायत बाँसका सामग्री बनाउने गरेका छन्। बाँसका सामग्रीको माग अत्यधिक रहेको हरिनगर–२ रामनगरभुटहाका वीरेन्द्र मरिकले बताउँछन्। अहिले गाउँगाउँबाट  एक सय ५० रुपैयाँ देखि तीन सय ५० सय रुपैयाँसम्ममा बाँस किनेर ल्याई विभिन्न सामग्री बनाउन थालिएको छ।

यस बेलामा मनग्य आम्दनी गर्न सकिने उनको भनाइ छ। ‘छठमा बाँसका सामग्री सबैलाई पुर्याउनै गाह्रो हुने गरेको छ । महिना दिनअघिबाटै यसमा लाग्छौँ’, मरिकले भने। रोजगार र पेसा नै बाँसका सामग्री बनाउने भएकाले त्यसमै सक्रिय भएर लागेको र त्यसबाट हुने आम्दनीबाट छोराछोरीको शिक्षामा खर्च गर्ने गरेको उनले बताए। श्रीमान् र छोराछोरीसँगै छठसम्ममा दुई सय कोनियाँ र ढाकी बनाउने योजना उनको छ।

हरिनगरका मरिकजस्तै कोसी, देवानगञ्ज, गढी, इनरुवा, रामधुनी, बराहक्षेत्र, भोक्राहा, दुहबीलगायत स्थानमा बसोबास गर्ने मरिक समुदायले समेत छठलक्षित बाँसका सामग्री बनाउन थालेका छन्। आधुनिकतासँगै बाँसका सामग्रीको माग घट्दा मरिक समुदाय चिन्तित छ।

प्रकाशित: १ मंसिर २०८० ९:४४ | Friday, November 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast