उपराष्ट्रपतिले नेपाल संवतमा सम्झिए शङ्खधर साख्वा

हिमाल प्रेस २४ कार्तिक २०८३ ७:१७ | Tuesday, November 10, 2026
उपराष्ट्रपतिले नेपाल संवतमा सम्झिए शङ्खधर साख्वा

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताएका छन् ।

नेपाल संवत् ११४७ को शुभारम्भका अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले राष्ट्रिय विभूति शङ्खधर साख्वाले लोककल्याणको भावनाबाट प्रेरित भई पीडित जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक कार्यले नेपाली समाजमा सेवा, परोपकार र सामाजिक उत्तरदायित्वको उच्च आदर्श स्थापित गरेको बताएका छन् ।

साख्वाले देखाएको मानवतावादी मार्ग आज पनि हाम्रो राष्ट्रिय जीवनका लागि उत्तिकै प्रेरणादायी र अनुकरणीय रहेको उपराष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।

“नयाँ वर्षको प्रारम्भसँगै आत्मसमीक्षा, नवीन सङ्कल्प र सकारात्मक परिवर्तनको अवसर प्राप्त हुन्छ, नेपाल संवत्ले हामीलाई विगतको गौरव मात्रको स्मरण गराउँदैन, वर्तमानलाई जिम्मेवार ढङ्गले आत्मसात् गर्दै भविष्यलाई अझ उज्यालो बनाउने प्रेरणा पनि प्रदान गर्दछ”, शुभकामना सन्देशमा उपराष्ट्रपतिले भनेका छन् ।

उनले नेपालको यस मौलिक संवत्ले सम्पूर्ण नेपालीमा पारस्परिक विश्वास, सामाजिक सद्भाव, सहयोग, शान्ति र सहकार्यको भावना अभिवृद्धि गरोस् भनी कामना गरेका छन् । “युवा पुस्तामा सिर्जनशीलता, उद्यमशीलता र राष्ट्रनिर्माणप्रतिको प्रतिबद्धता विकास गरोस् । साथै, हामी सबैलाई लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा राष्ट्रिय हितको संरक्षण र सम्वर्धनमा थप जिम्मेवार र सक्रिय बन्न प्रेरित गरोस्”, सन्देशमा भनिएको छ ।

उपराष्ट्रपति यादवले समुन्नत, समावेशी, न्यायपूर्ण र समृद्ध नेपालको साझा आकांक्षा पूरा गर्ने यात्रामा नेपाल संवत्ले सम्पूर्ण देशवासीलाई सकारात्मक ऊर्जा, प्रेरणा र आत्मविश्वास प्रदान गरोस् भनी कामना गरेका छन् ।

प्रकाशित: २४ कार्तिक २०८३ ७:१७ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast