शङ्खधरले जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत्को आफ्नै पहिचान छ : प्रधानमन्त्री

हिमाल प्रेस २४ कार्तिक २०८३ ७:५१ | Tuesday, November 10, 2026
शङ्खधरले जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत्को आफ्नै पहिचान छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाले देशभरीका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित नेपालको आफ्नै मौलिक समयचक्र र पहिचान भएको बताएका छन्।

नेपाल संवत् ११४७ (न्हूँदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा शुभकामना व्यक्त गर्दै उनले हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउन प्रेरणा दिने उल्लेख गरेका छन्।

शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्ह पूजा’ को मर्म अति गहिरो रहेको बताएका छन्। ‘म्ह’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउने उनको भनाइ छ।

यो मौलिक परम्पराले समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुख्र्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने उनले उल्लेख गरेका छन्।

यसैगरी, भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाएको पौराणिक मान्यतासँगै आजैका दिन कृषिकर्मका सहयात्री गोरु र कृषि औजारहरूको पूजा गरी गोवर्धन पूजा तथा हली तिहार मनाइने सन्दर्भ पनि उनले स्मरण गरेका छन्।

देउसीभैलोका मिठा भाका र आशीर्वाचनले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव थप्ने भन्दै प्रधानमन्त्री शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: २४ कार्तिक २०८३ ७:५१ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast