अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर : एपी
काठमाडौँ- अमेरिकाले चीन र युरोपेली संघ (ईयू) सहित १४ अर्थतन्त्रमा नयाँ आयात शुल्क लगाउने प्रस्ताव अघि सारेको छ। अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (यूएसटीआर) ले १६ व्यापारिक साझेदारविरुद्ध आठ महिनासम्म गरेको अनुसन्धानपछि बुधबार नयाँ आयात शुल्कको प्रस्ताव सार्वजनिक गरेको हो।
अमेरिकाका एक वरिष्ठ अधिकारीले समाचार संस्था एएफपीलाई प्रस्तावित शुल्क २० प्रतिशतसम्म हुन सक्ने बताएका छन्। सम्बन्धित देशले बजारको वास्तविक माग र आर्थिक सिद्धान्तभन्दा बाहिर गएर आवश्यकताभन्दा बढी उत्पादन क्षमता विस्तार गरिरहेको आरोप अमेरिकाको छ। नयाँ शुल्क लागू गर्नुअघि प्रस्तावमाथि सर्वसाधारण तथा सम्बन्धित पक्षको राय मागिनेछ।
यूएसटीआरले कम्बोडिया, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, ताइवान, थाइल्यान्ड र भारतबाट आयात हुने वस्तुमा २५ प्रतिशतसम्म शुल्क लगाउने प्रस्ताव गरेको छ। चीनमाथि सबैभन्दा बढी शुल्क लगाउने प्रस्ताव गरिएको छ। चीनबाट आयात हुने वस्तुमा थप २० प्रतिशत शुल्क लगाउने प्रस्ताव छ। यो शुल्क ट्रम्पको पहिलो कार्यकालमा लगाइएको करिब २५ प्रतिशत शुल्कभन्दा अतिरिक्त हुनेछ।
यूएसटीआरले छुट्टै घोषणामार्फत ब्राजिलबाट आयात हुने वस्तुमा पनि अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरेको छ। यसमा विमानसमेत समावेश छन्। ब्राजिलले उसका व्यापारसम्बन्धी चासो सम्बोधन गर्न पर्याप्त कदम नचालेको आरोप अमेरिकाको छ।
भारत र भियतनाम अमेरिकासँग व्यापार सम्झौतालाई अन्तिम रूप दिन बाँकी रहेका देशमध्ये हुन्। अमेरिकी अधिकारीका अनुसार प्रस्तावित शुल्कले यी दुई देशसँगको व्यापार वार्तालाई गति दिन सक्छ।
त्यसका अतिरिक्त डिसेम्बरमा मियामीमा हुने जी–२० शिखर सम्मेलनका क्रममा अमेरिकाले केही अन्य देशसँग पनि व्यापार सम्झौतालाई अन्तिम रूप दिन सक्ने सम्भावना छ।



