रविसँग आशीर्वाद लिएर मेची-महाकाली यात्रामा निस्किए सांसद अमरेशकुमार सिंह (तस्बिरहरू)

हिमाल प्रेस ३० कार्तिक २०८३ १२:३१ | Monday, November 16, 2026
रविसँग आशीर्वाद लिएर मेची-महाकाली यात्रामा निस्किए सांसद अमरेशकुमार सिंह (तस्बिरहरू)

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले जनताको वास्तविक समस्या पहिचान गरी त्यसको नीतिगत समाधान खोज्ने संकल्पसहित ऐतिहासिक ६० दिने मेची-महाकाली पैदल यात्रा सुरु गरेका छन्।

जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणबाट आज रास्वपाका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेको प्रमुख आतिथ्यमा यात्राको शुभारम्भ गरिएको हो।

शुभारम्भ कार्यक्रममा सांसदहरू रवीन्द्र पटेल, मनीष झा, पुरुषोत्तम यादव, विनोद यादवलगायत पार्टीका नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सो क्रममा सांसद सिंहले सभापति लामिछानेसँग आशीर्वाद पनि लिएका थिए।

देशमा शान्ति स्थापना, राष्ट्रिय एकता सुदृढीकरण तथा नेपालीहरूबीच भावनात्मक सम्बन्ध, आपसी सद्भाव र भाइचारा कायम गर्ने उद्देश्यले यात्रा अघि बढाइएको सांसद सिंहले बताएका छन्।

उनका अनुसार यात्राका क्रममा सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनजस्ता नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राखिनेछ। गाउँबस्तीमा पुगेर नागरिकका समस्या, गुनासा, आवश्यकता र अपेक्षा सुन्ने तथा समाधानका लागि आवश्यक पहल गरिने उनको भनाइ छ।

सिंहले यो अभियानलाई राजनीतिक गतिविधिमा सीमित नराखी जनतासँग प्रत्यक्ष जोडिने, देशको वास्तविक अवस्था बुझ्ने र नागरिकका आवश्यकतालाई नीति निर्माणको तहसम्म पुर्‍याउने अवसरका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

यात्राका क्रममा स्थानीय उत्पादन, बजारीकरण, रोजगारी र आर्थिक सम्भावनाको पहिचान गरिनेछ। लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका, अन्यायमा परेका तथा राजनीतिक वा प्रशासनिक दबाबका कारण पीडित नागरिकका समस्या पनि तथ्यसहित अभिलेखीकरण गरी कानुनी तथा नीतिगत सुधारका लागि पहल गर्ने लक्ष्य राखिएको छ।

त्यसैगरी, सीमा क्षेत्रका समस्या, सीमाको संरक्षणमा योगदान पुर्‍याउने स्थानीय व्यक्ति तथा समुदायको भूमिका, प्रहरी प्रशासन र सुरक्षाकर्मीका चुनौती तथा ग्रामीण प्रहरी चौकीको अवस्था पनि यात्राका महत्वपूर्ण विषय रहनेछन्।

महिला, ज्येष्ठ नागरिक, दलित, अपांगता भएका व्यक्ति तथा सीमान्तकृत समुदायका आवाजलाई विशेष प्राथमिकता दिइने बताइएको छ। स्थानीय संस्कृति, रहनसहन, खानपान र जीवनशैलीसँग जोडिँदै स्थानीय व्यवसाय तथा समुदायलाई प्रोत्साहन गर्ने नीति पनि यात्राले आत्मसात् गर्ने अपेक्षा गरिएको छ।

हिमाल, पहाड र तराईबीच सामाजिक, सांस्कृतिक तथा भावनात्मक सम्बन्ध बलियो बनाउँदै विविधताभित्रको एकताको सन्देश प्रवाह गर्नु पनि अभियानको महत्वपूर्ण उद्देश्य रहेको छ।

सांसद सिंहको यात्रासम्बन्धी अपेक्षाअनुसार प्रत्येक बस्तीमा नागरिकसँग प्रत्यक्ष संवाद गरी उनीहरूका समस्या, स्थानीय सम्भावना, आवश्यकता र समाधानका उपायको तथ्यगत अभिलेख तयार गरिनेछ। यात्राबाट संकलित विवरणलाई काठमाडौं फर्किएपछि संसद्, सरकार र नीतिनिर्माणको तहमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ।

उनको जोड नागरिकलाई भाषण सुनाउनेभन्दा नागरिकका कुरा सुन्ने, उनीहरूसँगै बसेर समस्या पहिचान गर्ने र समाधानका लागि राजनीतिक तथा संस्थागत पहल गर्ने अभ्यासमा छ।

सिंहका अनुसार देशका धेरै समस्याको समाधान स्वयं नागरिकसँगै रहेको हुन्छ। त्यसका लागि नागरिकका कुरा सुन्ने, उनीहरूको आवश्यकता बुझ्ने र प्राप्त सुझावलाई कार्यान्वयन गर्ने राजनीतिक इच्छाशक्ति आवश्यक छ।

प्रकाशित: ३० कार्तिक २०८३ १२:३१ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast