भारतको सबैभन्दा गरिब राज्यमा विधायकले छोरीको बिहेमा बोलाए चार लाख पाहुना

हिमाल प्रेस ११ मंसिर २०८३ १६:५३ | Friday, November 27, 2026
12
SHARES
भारतको सबैभन्दा गरिब राज्यमा विधायकले छोरीको बिहेमा बोलाए चार लाख पाहुना दुलही शिवांगी सिंह। तस्बिर स्रोत : बीबीसी हिन्दी

काठमाडौँ- भारतका अर्बपति मुकेश अम्बानीले सन् २०२४ मा छोरा अनन्तको विवाहका लागि गरेको भव्य आयोजनाको सिको गर्न ठूलै आँट चाहिन्छ। महिनौँसम्म चलेको उक्त विवाह समारोहमा कम्तीमा ६० करोड अमेरिकी डलर खर्च भएको अनुमान गरिएको थियो। विश्वका विभिन्न मुलुकका नेतादेखि चर्चित कलाकारसम्म त्यसका पाहुना थिए।

तर भारतको सबैभन्दा गरिब राज्य बिहारका विधायक अनन्त सिंहले पनि बुधबार छोरी शिवांगी सिंहको विवाहमा सकेसम्म त्यस्तै भव्यता देखाउने प्रयास गरे। ग्रामीण परिवेशमा आयोजित उक्त विवाह समारोहमा जर्जिया स्टेट युनिभर्सिटीमा एमबीए अध्ययनरत ऋषिकेश कुमार बेहुला थिए।

भारतकै चर्चित भव्य विवाह समारोहको मापदण्डमा समेत चकित पार्ने गरी नडावा गाउँस्थित सिंह परिवारको घरमा रहेको करिब २.५ हेक्टर क्षेत्रफलमा चार लाख पाहुनालाई स्वागत गरिएको थियो। विधायक सिंहका विश्वासपात्र मुन्ना सिंहले समाचार संस्था एएफपीलाई बताएअनुसार पाहुनाका लागि पाँच लाख थान परम्परागत मिठाईको व्यवस्था गरिएको थियो।

पाँच सय जना भान्से र पाककलामा संलग्न व्यक्तिको टोलीले भोज तयार पारेको थियो। कबाब र तरकारी बनाउन एक हजार किलो खसीको मासु प्रयोग गरिएको बताइएको छ। भारतका विभिन्न स्थानबाट आउने विशिष्ट पाहुनाका लागि अस्थायी रूपमा छवटा हेलिप्याडसमेत निर्माण गरिएको थियो।

बेहुला कुमार एक सय ५१ वटा गाडीको लस्करसहित विवाहस्थल पुगेका थिए। उनले घामबाट जोगिने चस्मा लगाएका थिए भने हातमा सुन्तला रङको सल हल्लाइरहेका थिए। हिन्दू धर्मावलम्बीले बिजोर सङ्ख्यालाई शुभ मान्ने भएकाले गाडीको सङ्ख्या पनि बिजोर राखिएको थियो। बेहुलालाई दिइएका उपहारमध्ये एउटा ल्यान्ड रोभर डिफेन्डर गाडीसमेत थियो।

विवाह समारोहअघि विवाहस्थल पुग्ने सडकमा गाडीको अत्यधिक चाप थियो। द टाइम्स अफ इन्डियाका अनुसार एक जना पाहुना सवारी जाममा फस्नबाट बच्न ट्र्याक्टर चढेर वरपरका खेत हुँदै विवाहस्थल पुगेका थिए।

पाहुनाका लागि चीनबाट आयात गरिएका फूलसहितको आकर्षक सजावट र आतसबाजीको प्रदर्शन गरिएको थियो।

मनोरञ्जनका लागि डिजे राख्नुको सट्टा सिंहले घोडदौड प्रतियोगिता आयोजना गर्ने योजना बनाएका थिए। निम्तो नपाएका मानिस पनि प्रतियोगिता हेर्न रूख र बिजुलीका टावरमा चढेका थिए। तर अत्यधिक भीडभाड र अस्तव्यस्तताका कारण अन्तिम समयमा प्रतियोगिता रद्द गर्नुपर्‍यो। प्रतियोगिता जित्नेले पाउने भनिएको एसयूभी गाडी भने विवाह समारोहको अव्यवस्थाबीच कतै थन्किएको थियो।

सिंह विवादास्पद व्यक्तित्व हुन्। उनी पाँचपटक राज्य विधानसभामा निर्वाचित भइसकेका छन्। उनीमाथि हत्या, हत्या प्रयास, जबर्जस्ती असुली र अपहरणलगायतका २८ वटा आपराधिक मुद्दा विचाराधीन छन्। सुशासन सुधार र लोकतन्त्र सुदृढीकरणका लागि काम गर्ने गैरसरकारी संस्था एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्सको वेबसाइटमा उनका सबै मुद्दाको विवरण उल्लेख छ। यद्यपि सिंहले आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन्।

विवाहअघि एक टेलिभिजन अन्तरवार्तामा उनले विवाह समारोहको भव्यता असामान्य भएको भन्ने धारणालाई अस्वीकार गरेका थिए। उनले भनेका थिए, ‘मैले जेठी छोरीको विवाहमा पनि ठ्याक्कै यस्तै व्यवस्था गरेको थिएँ।’

प्रकाशित: ११ मंसिर २०८३ १६:५३ | Friday, November 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast