काठमाडौँ- मकवानपुर अपडेटमा दुर्घटनामा घाइते भएकामध्ये तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ।
घाइते हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र ३ वर्षीय सुदन यादव रहेका छन्। मुकेश यादवको टाउको र ढाडमा चोट लागेको छ भने उनको अवस्था सामान्य रहेको छ।
सशस्त्र प्रहरीका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। तीमध्ये ३ जनालाई उपचारका लागि हेटौँडामा लगिएको हो।
सशस्त्र प्रहरीका सह प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
प्रकाशित: २६ कार्तिक २०८३ ९:१७ | Thursday, November 12, 2026
प्रतिक्रिया



