सुनकोसी नदीमा खस्दा मृत्यु हुने तीनजना र बेपत्ताको पहिचान खुल्यो

हिमाल प्रेस २ कार्तिक २०८३ ६:२२ | Monday, October 19, 2026
10
SHARES
सुनकोसी नदीमा खस्दा मृत्यु हुने तीनजना र बेपत्ताको पहिचान खुल्यो

खोटाङ– काठमाडौंबाट खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित सुनकोसी नदीमा खस्दा मृत्यु हुने तीनजना र बेपत्ताको पहिचान खुलेको छ ।

मृत्युु हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङस्थित दुवेकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तिका विश्वकर्मा छन् ।

लफ्याङका स्थानीय जनक राईले दिएको जानकारीअनुसार युपना र दिव्या काठमाडौं बसेर अध्ययनसँगै सामान्य रोजगारीको काम गर्दै आएका थिए । स्वस्तिका काठमाडौं बसेर माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारीमा थिइन् ।

आइतबार बिहान नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब १५० मिटर तल सुमो खस्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनाका परी तीन बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार, बेपत्ता हुनेमा लफ्याडका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई छन् ।

दुर्घटनामा परी घाइते हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई र खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरीका १३ वर्षीय अंकित विश्वकर्मा, चालक ओखलढुंगा सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा छन् ।

प्रहरीले दिएको जानकारीअनुसार घाइतेहरूमध्ये चालक आशीष बेहोस छन् भने, सम्झनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सिन्धुलीस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सम्झनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।

घाइते शिवानी र अंकितको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिए ।

काठमाडौंबाट गएराति करिब ११ बजे हिँडेको सुमोमा चालकसहित १० जना यात्रु सवार रहेको प्रहरी जनाएको छ । सुमोका चालक निदाएर दुर्घटना भएको हुन सक्ने घटनास्थल पुगेका प्रहरीको अनुमान छ । रासस

प्रकाशित: २ कार्तिक २०८३ ६:२२ | Monday, October 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast