फ्रान्सको पेरिसमा बढ्दो महँगीविरुद्ध भएको प्रदर्शनको भोलिपल्ट आइतबार प्लास दे ला रिपब्लिकमा जलेको कार हेर्दै सर्वसाधारण। तस्बिर : एपी/रासस
काठमाडौँ- युरोपेली संघका विभिन्न देशका सडकमा शनिबार सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ। फ्रान्स, इटाली, बेल्जियम र पोर्चुगलमा बढ्दो महँगी तथा जीवनयापनको लागतविरुद्ध हजारौँ मानिसले छुट्टाछुट्टै र कुनै समन्वयबिना प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
फ्रान्समा मात्रै एक हजार दुई सयजना पक्राउ परेका छन्। त्यहाँ प्रदर्शनका क्रममा झडप, पसलमा लुटपाट र आगजनी हुनुका साथै सरकारी भवन तथा व्यापारिक प्रतिष्ठानमा क्षति पुर्याइएको छ।
फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले अत्यन्त गम्भीर हिंसाको निन्दा गरेका छन्।
युरोपमा यी प्रदर्शन आगामी १२ महिनाभित्र राष्ट्रिय निर्वाचनको अभूतपूर्व चक्र सुरु हुन लागेको समयमा भइरहेका छन्। स्पेन, फ्रान्स, इटाली र पोल्यान्डमा निर्वाचन हुँदै छन्।
दशकौँयताकै उथलपुथलपूर्ण प्रदर्शनमध्ये एक
फ्रान्समा दशकौँयताकै उथलपुथलपूर्ण प्रदर्शन भएको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार पाँच लाख ५० हजारभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए। देशभरि प्रहरी र प्रदर्शनकारीबीच आमनेसामनेको अवस्था सिर्जना भयो। केही स्थानमा प्रदर्शन झडप, लुटपाट र आगजनीमा परिणत भए।
फ्रान्सेली समाचारपत्र ले मोन्द का अनुसार प्रधानमन्त्री लेकोर्नुले एक हजार दुई सयजना पक्राउ परेको र एक सय ५० जना प्रहरी घाइते भएको बताएका छन्।
समाचार संस्था एएफपीका अनुसार पेरिस, मार्से, निस, नान्त, बोर्डो, लिमोज, लिल, टुलुज र स्ट्रासबर्गका विभिन्न पसलमा लुटपाट भएको छ। लुटपाटमा देशका प्रसिद्ध फेसन ब्रान्ड लुई भिटन र हर्मेसका पसलसमेत परेका छन्।
पेरिसका मेयर इमानुएल ग्रेगोआरले राजधानीका पूरै सडक तहसनहस पारिएको बताएका छन्।
लिमोजमा मुख छोपेका प्रदर्शनकारीले आगजनी गर्दा एक सय ४० वर्षभन्दा पुरानो नगर भवनमा ठूलो क्षति पुगेको छ। भवन लगभग पूर्ण रूपमा नष्ट भएको छ। मार्से र लिलमा प्रदर्शनकारी नगर भवनभित्र प्रवेश गरेर तोडफोडमा उत्रिएका थिए भने लियोनमा सहरको पर्यटन कार्यालयमा आगो लगाइएको थियो।
गत महिना सुरु भएका प्रदर्शन व्यापक हिंसामा परिणत भएपछि राष्ट्रपति इमानुएल म्याक्रोंले सरकारी भवन तथा व्यापारिक प्रतिष्ठानमा आक्रमण गर्ने र लुटपाटमा संलग्न हुनेमाथि मुद्दा चलाएर सजाय दिइने बताएका छन्।
उनले एक्समा लेखेका छन्, ‘हाम्रो गणतन्त्रमा हिंसाका लागि कुनै ठाउँ छैन। सरकारी कार्यालय तथा व्यापारिक प्रतिष्ठानमा आक्रमण गर्ने, क्षति पुर्याउने र नगर भवनमा समेत लुटपाट गर्नेहरूविरुद्ध मुद्दा चलाइनेछ र उनीहरूलाई सजाय दिइनेछ।’
इटालीको मिलानमा झडप
इटालीको मिलान सहरको मध्यभागमा शनिबार प्रदर्शनकारी र प्रहरीबीच झडप भयो। पसलहरूमा लुटपाट गरियो र विभिन्न संरचनामा आगजनी गरियो।
युद्ध र बढ्दो जीवनयापनको लागतविरुद्ध आयोजित जुलुस सुरुमा शान्तिपूर्ण थियो। तर स्थानीय सञ्चारमाध्यमका अनुसार पछि मुख छोपेका प्रदर्शनकारीले दङ्गा नियन्त्रणमा खटिएका प्रहरीमाथि ढुङ्गा, सडकबाट उक्काइएका ढुङ्गाका टुक्रा र अन्य वस्तु प्रहार गरे। उनीहरूले बारका टेबल प्रयोग गरेर बनाइएका अवरोधमा आगोसमेत लगाए।
भीडलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो। इटालीको समाचार संस्था लाप्रेसका अनुसार कम्तीमा दुई जना प्रहरी घाइते भए भने करिब ५० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइयो। पक्राउ पर्नेमा केही नाबालकसमेत थिए।
प्रदर्शनबारे प्रतिक्रिया दिँदै इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले एक्समा लेखिन्, ‘प्रदर्शन गर्नु अधिकार हो। हाम्रा सहरमा आगो लगाउनु होइन।’
उनले लोकतन्त्रमा प्रदर्शनको महत्त्व स्वीकार गर्दै प्रदर्शनलाई अराजकता फैलाउने, सुरक्षा कायम गर्न खटिएकाहरूमाथि आक्रमण गर्ने र पूरै सहरलाई बन्धक बनाउने माध्यम बनाउने उपद्रवीहरूको आलोचना गरिन्।
मेलोनीले विपक्षी दलहरूलाई पनि हिंसाको स्पष्ट निन्दा गर्न र शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गर्न आग्रह गरिन्।
मिलानका मध्यवामपन्थी मेयर ज्युसेप्पे सालाले प्रदर्शनका पछाडि रहेका असन्तुष्टिलाई जायज ठहर्याए पनि हिंसाको निन्दा गरे। उनले भने, ‘प्रदर्शनका पछाडिका कारण बुझ्न सकिन्छ। तर कानुन व्यवस्था कायम गर्न खटिएकाहरूमाथि हिंसा गर्नु र सहरमा गम्भीर क्षति पुर्याउनुलाई उचित ठहर्याउन सकिँदैन।’
बेल्जियमको राजधानी ब्रसेल्समा पनि सयौँ मानिस सडकमा उत्रिए। प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा प्रयोग गर्यो। प्रदर्शनकारीमाथि प्रहरीलाई वस्तु प्रहार गरेको र आगजनी गरेको आरोप लागेको छ।
विश्वविद्यालयको चर्को भर्ना शुल्कविरुद्ध विद्यार्थीहरूले कैयौँ सातादेखि प्रदर्शन गर्दै आएका थिए। त्यसैको निरन्तरताका रूपमा यी प्रदर्शन भएका हुन्। यससँगै शिक्षासम्बन्धी असन्तुष्टिसमेत जीवनयापनको बढ्दो लागतप्रति पहिलेदेखि नै रहेको आक्रोशमा जोडिएको छ।
पोर्चुगलको राजधानी लिस्बनमा शनिबार हजारौँ मानिसले बढ्दो जीवनयापनको लागत, न्यून तलब र ठूला सहरमा घर पाउन कठिन हुँदै गएको विरोधमा जुलुस निकाले। यसका लागि केही दिनअघिदेखि नै प्रदर्शनको तयारी भइरहेको थियो।
पोर्चुगलका संसदीय मामिलामन्त्री कार्लोस अब्रेउ अमोरिमले सरकारले प्रदर्शनकारीको दबाबसामु नझुक्ने बताएका छन्।
फ्रान्स कसरी प्रदर्शनको केन्द्र बन्यो?
फ्रान्समा प्रदर्शन गत महिना पेरिस आसपासका क्षेत्रका माध्यमिक विद्यालयबाट सुरु भएका थिए। शिक्षकको अभाव र पर्याप्त सुविधा नभएको भन्दै विद्यार्थीहरूले विरोध जनाएका थिए। त्यसपछि प्रदर्शन पेरिसका अन्य भागमा फैलियो र क्रमशः देशभरि पुग्यो। बिस्तारै यो बढ्दो जीवनयापनको लागतविरुद्धको व्यापक आन्दोलनमा परिणत भयो।
यी प्रदर्शनले अन्तर्राष्ट्रिय ध्यानसमेत खिचेका छन्। यसै महिनाको सुरुतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्समा जारी अशान्तिका लागि इस्लाम र आप्रवासनलाई जिम्मेवार ठहर्याएका थिए।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए, ‘फ्रान्समा जे भइरहेको छ, त्यो नियन्त्रणबाहिर पुगेको व्यापक आप्रवासनबाहेक अरू केही होइन।’
शनिबारका प्रदर्शनले सन् २०१८ को ‘यल्लो भेस्ट’ आन्दोलनको पनि सम्झना गराएका छन्। म्याक्रों सरकारविरुद्ध बढ्दो इन्धन मूल्य र जीवनयापनको लागतलाई लिएर उक्त आन्दोलन भएको थियो।
समाचार संस्था एपीका अनुसार फ्रान्सभरिका प्रदर्शनकारीले सामाजिक सञ्जालमा आन्दोलन पुनः सुरु गर्न गरिएको आह्वानलाई समर्थन गर्दै प्रदर्शनमा भाग लिएका थिए। उनीहरूमध्ये धेरैले चम्किलो पहेँलो रङका ज्याकेट लगाएका थिए। सन् २०१८ को आन्दोलनमा यस्ता ज्याकेट पहिचान बनेका थिए।
अल्बानियामा भ्रष्टाचारविरोधी आन्दोलन
बीबीसीका अनुसार अल्बानियाको राजधानी तिरानाको केन्द्रमा शनिबार लगातार पाँचौँ दिन प्रदर्शनकारी र दंगा नियन्त्रण प्रहरीबीच भीषण झडप भएको छ।
नकावधारी प्रदर्शनकारीमध्ये अधिकांश माध्यमिक विद्यालय र विश्वविद्यालयका विद्यार्थी थिए। उनीहरूले प्रदर्शनको प्रमुख केन्द्रमध्ये एक रहेको शिक्षा मन्त्रालयको रक्षा गरिरहेका प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार गरेका थिए।
प्रहरीले जवाफमा पानीको फोहोरा र अश्रुग्यासका गोला प्रहार गरेपछि प्रदर्शनकारी तितरबितर भएका थिए। पहिलोपटक रबरका गोलीसमेत प्रयोग गरिएको छ। सरकारसँग सम्बन्धित भ्रष्टाचारका आरोपपछि प्रधानमन्त्रीलाई राजीनामा दिन माग गर्दै प्रदर्शन चर्किएको हो।




