कञ्चनपुर- कृष्णपुर नगरपालिकाले नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई असोज ३० गतेसम्म विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शुक्रबार जारी गरेको सूचनामा शैक्षिक सत्र २०८३ को शैक्षिक क्यालेन्डरअनुसार असोज २५ गते घटस्थापनादेखि विद्यालय बिदा रहेको जनाइएको छ।
शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनमा भएको व्यवस्थाअनुसार विद्यालयको लामो बिदा ३० दिन कायम गरिएकाले बिदा व्यवस्थापनका लागि असोज ३० गतेसम्म विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको शाखाका वरिष्ठ शाखा अधिकृत अनिता ठगुन्नाले जारी गरेको पत्रमा उल्लेख छ।
नगरपालिकाले उक्त अवधिसम्म विद्यालय सञ्चालन गरी बिदा व्यवस्थापन गर्न नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई अनुरोध गरेको छ।
प्रकाशित: १९ असोज २०८३ १०:२४ | Monday, October 5, 2026
प्रतिक्रिया



