म्याग्दी- बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ-बेनी सडकको मुख्य चुनौती बनेको छ।
गत असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ।
पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको सडक पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि मध्यपहाडी लोकमार्ग भएर बागलुङ, रुकुम पूर्व-पश्चिम र जाजरकोटबाट पोखरा तथा काठमाडौँ आउजाउ गर्ने सवारी साधनहरूले पनि बागलुङ-बेनी-मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गरिरहेका छन्।
बेनी नगरपालिका-२ खबराका कमल सुवेदीका अनुसार सडक दबेको ठाउँमा हिलोमा गाडी फस्ने, उकालो उक्लिन नसक्ने, सवारी साधनको जाम हुने र बाटो साँघुरो भएकाले दुर्घटनाको पनि जोखिम रहेको छ।
नदी कटान र पहिरोका कारण एक सय मिटर दुरीमा सडक साविकको भन्दा दुई देखि तीन मिटर भासिएको र दबेको उनले बताए। सवारी साधनको चाप बढेको हुँदा घण्टौँ जाम हुने गरेको उनले जानकारी दिए।
आर्थिक वर्ष २०८१/०८२ मा सडक डिभिजन कार्यालय बागलुङले भसभसे पहिरोको भूमिगत पानी व्यवस्थापन र हिलोमा ढलान गरेको थियो। तर हाल ढलान गरिएको सडक सबै भासिएको छ।
जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीका अनुसार भसभसेमा यातायात व्यवस्थापनका लागि सडक डिभिजन कार्यालयले मर्मत र उपकरण परिचालन गरे पनि प्रतिकूल भूगोलका कारण समस्या समाधान हुन सकेको छैन।
सडक डिभिजनले ग्राभेल राखे पनि दबेर भोलिपल्ट पहिलेकै जस्तो अवस्था हुने गरेको उनले बताइन्। सडक भासिने र दब्ने क्रम नरोकिएकाले फसेका गाडीहरूलाई डोजरको सहायताले तार्ने गरिएको उनले जानकारी दिइन्।
भसभसे पहिरोका कारण खबरा गाउँ पनि जोखिममा परेको छ। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पक्की पर्खाल लगाएर तटबन्ध गर्नाका साथै पहिरोग्रस्त ठाउँमा ग्रेड मिलाउने र पक्की बनाउन सडक डिभिजन कार्यालयमार्फत पहल गरिएको कार्यवाहक प्रमुख खत्रीले बताएकी छन्।



