नेपालमा ९०४ प्रजातिका चरा

हिमाल प्रेस २० असोज २०८३ २०:५४ | Tuesday, October 6, 2026
नेपालमा ९०४ प्रजातिका चरा तस्बिर : अनिल मण्डल

काठमाडौँ- धनुषामा कलर्ड किङफिसर देखिएपछि नेपालमा अभिलेखीकृत चराका प्रजातिको संख्या नौ सय चार पुगेको छ।
नेपाल बर्ड रेकर्ड समिति (एनबीआरसी) ले उक्त चराको अभिलेखलाई आधिकारिक रूपमा पुष्टि गरेको हो।

समितिका अनुसार धनुषाको जनकपुरधाम–१२ स्थित कुँवा मंगलईनजिकै सेप्टेम्बर २९ मा अनिल मण्डलले उक्त चरा देखेका थिए।

मण्डलले सुरुमा खेतबारीनजिक बिजुलीको तार र रूखमा बसेको अवस्थामा चरालाई देखेर अवलोकन तथा तस्बिर खिचेका थिए। प्रारम्भिक पहिचानपछि उनले सेप्टेम्बर ३० मा तस्बिरसहित विस्तृत विवरण एनबीआरसीमा बुझाएका थिए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पक्षीविज्ञसँग परामर्श गरेपछि समितिले उक्त अभिलेखको पुष्टि गरेको हो।

कलर्ड किङफिसर कोरासिफोर्मिस वर्गअन्तर्गत अल्सेडिनिडी परिवारमा पर्छ। यो प्रजाति दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अस्ट्रेलिया तथा प्रशान्त महासागरका द्वीपक्षेत्रका साथै मध्यपूर्व र पूर्वी अफ्रिकाका तटीय क्षेत्रमा व्यापक रूपमा पाइन्छ।

दक्षिण एसियामा यो चरा मुख्यतः तटीय तथा म्यान्ग्रोभ क्षेत्रमा पाइन्छ। बंगलादेश र भारतका सुन्दरवनका साथै गुजरात, महाराष्ट्र, गोवा, अन्डमान तथा निकोबार द्वीपसमूह, तमिलनाडु र आन्ध्र प्रदेशका केही क्षेत्रमा यसको उपस्थिति पाइन्छ।

‘नेपाल भूपरिवेष्टित देश भएकाले मुख्यतः तटीय क्षेत्रमा पाइने कलर्ड किङफिसर यहाँ देखिनु अत्यन्तै दुर्लभ घटना हो’, समितिले भनेको छ। समितिका अनुसार यो चरा सम्भवतः आफ्नो नियमित मार्गबाट भड्किएर नेपाल आइपुगेको हुन सक्छ।

‘सुन्दरवन वा पश्चिम बंगालबाट गंगा–ब्रह्मपुत्र नदी प्रणाली पछ्याउँदै यो चरा बाटो बिराएर माथितिर आएको हुन सक्छ। अथवा प्रतिकूल मौसम र हावाको प्रभावले पनि यो चरा भित्री भूभागतर्फ धकेलिएको हुन सक्छ’, समितिले जनाएको छ।

प्रकाशित: २० असोज २०८३ २०:५४ | Tuesday, October 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast