तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ७६ घाइते

हिमाल प्रेस ६ कार्तिक २०८३ १६:५४ | Friday, October 23, 2026
10
SHARES
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ७६ घाइते चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको नाग्छु सहरअन्तर्गत बाछेन काउन्टीस्थित एक प्राथमिक विद्यालयमा भूकम्प प्रभावित बासिन्दाका लागि पाल टाँगिँदै। तस्बिर : सिन्ह्वा/रासस

काठमाडौँ- चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिजाङ स्वायत्त क्षेत्रको नाग्छु सहरअन्तर्गत बाछेन काउन्टीमा ७ म्याग्निच्युडको भूकम्प गएपछि ठूलो मानवीय क्षति भएको चिनियाँ सञ्चारमाध्यमले शुक्रबार जनाएका छन्। उद्धार तथा सहायता टोलीहरू चौबिसै घण्टा खोज तथा उद्धार, घाइतेको उपचार र राहत वितरणमा जुटेका छन्। भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पनि पुग्न थालेको छ।

बिहीबार राति १० बजेर ३३ मिनेटमा बाछेनमा भूकम्प गएको थियो। स्थानीय अधिकारीहरूका अनुसार भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्। भूकम्पका कारण ३३९ घरपरिवारका आवासमा क्षति पुगेको छ।

शुक्रबार बिहान २ बजेर १० मिनेटमा स्थानीय अग्नि तथा उद्धार टोलीका आठ सदस्य दुईवटा सवारीसाधनमा घटनास्थल पुगेका थिए। सञ्चारमाध्यमका अनुसार बिहान २ बजेर २० मिनेटमा उद्धार टोलीले भग्नावशेषमा फसेका एक जनालाई सकुशल उद्धार गरेको थियो।

राति अबेर आदेश प्राप्त भएपछि सिजाङ सैन्य कमान्ड र चिनियाँ जनसशस्त्र प्रहरी बलको सिजाङ कोरले तत्काल विपद् व्यवस्थापनका लागि आपत्कालीन योजना कार्यान्वयनमा ल्याएका थिए। चीनको समाचार संस्था सिन्ह्वाका अनुसार २० वटाभन्दा बढी सवारीसाधनमा ३०० भन्दा बढी सुरक्षाकर्मी रातारात भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका थिए।

पश्चिमी थिएटर कमान्डअन्तर्गतको वायुसेनाको एकाइले शुक्रबार मध्यराति करिब १२ बजे मानवरहित हवाई उपकरण (ड्रोन) उडाएर भूकम्प प्रभावित क्षेत्रको हवाई सर्वेक्षण गरेको थियो। उक्त उपकरणमार्फत विपद् प्रभावित क्षेत्रका दृश्य प्रत्यक्ष प्रसारण गरिएको थियो।

विभिन्न तहका सरकारी निकायले उपलब्ध गराएका राहत सामग्री शुक्रबार बिहानैदेखि प्रभावित क्षेत्रमा पुग्न थालेका थिए। ती सामग्रीमा एक हजार सेट पूर्वनिर्मित आवास, तीन हजार २०० भन्दा बढी पाल, दुई हजार ८०० भन्दा बढी फोल्डिङ खाट तथा सिरक, चुलो र लुगालगायत दैनिक उपभोग्य सामग्री छन्।

विपद् रोकथाम, न्यूनीकरण तथा राहतसम्बन्धी निकायले शुक्रबार प्राकृतिक विपद् राहतका लागि तेस्रो तहको आपत्कालीन प्रतिक्रिया प्रणाली सक्रिय पारेका छन्। भूकम्पबाट भएको क्षतिको थप मूल्याङ्कन भइरहेको छ भने विभिन्न सरकारी निकायले राहत तथा उद्धार कार्य जारी राखेका छन्।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार सिजाङ स्वायत्त क्षेत्रको आपत्कालीन कमान्डले सबै तहका सरकारी निकाय र सम्बन्धित विभागलाई परिचालन गरी जीवित व्यक्तिको खोज तथा उद्धार, घाइतेको उपचार र प्रभावित बासिन्दाको सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनःस्थापनाको काम तीव्र पारेको छ। सार्वजनिक सुरक्षा, अग्नि नियन्त्रण तथा उद्धार सेवा, स्टेट ग्रिड र यातायात क्षेत्रका कर्मचारीसहितका टोली भूकम्पको मुख्य केन्द्रविन्दु क्षेत्रतर्फ गइरहेका छन्।

राहत कार्यका लागि ३०० भन्दा बढी प्रहरी अधिकारीलाई केन्द्रविन्दुको मुख्य क्षेत्रमा खटाइएको छ। क्षेत्रीय अग्नि तथा उद्धार कोरले पनि ३४७ जना जनशक्ति र नौ हजार ४०० भन्दा बढी सेट सहायता सामग्री प्रभावित क्षेत्रमा परिचालन गरेको छ।

आपत्कालीन विद्युत् आपूर्ति सुनिश्चित गर्न स्टेट ग्रिड सिजाङ इलेक्ट्रिक पावर कम्पनीले २३ जना कर्मचारी, छवटा सवारीसाधन, ४९ सेट प्रकाश उपकरण र कम भोल्टेजमा विद्युत् उत्पादन गर्ने दुईवटा सवारीसाधन प्रभावित क्षेत्रमा पठाएको छ। विद्युत् कर्मचारीले रातभर विद्युत् संरचनाको निरीक्षण गरेका थिए।

नागरिक स्वयंसेवकहरूको उद्धार समूह सिजाङ ब्लु स्काई रेस्क्युले ग्लोबल टाइम्स लाई दिएको जानकारीअनुसार २० जना उद्धारकर्मी र सातवटा सवारीसाधनसहितको पहिलो टोली प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको छ। टोलीसँग भूकम्प उद्धारका एक सयभन्दा बढी उपकरण तथा चिकित्सकीय सामग्री छन्। उक्त टोली शुक्रबार बिहान १ बजेर ५० मिनेटमा घटनास्थलतर्फ प्रस्थान गरेको थियो। थप २० सदस्यीय दोस्रो टोली मुख्यालयमा तयारी अवस्थामा राखिएको छ।

भूकम्पको केन्द्रविन्दु बाछेन काउन्टीबाट ५९ किलोमिटर, छिङहाई प्रान्तको जादोई काउन्टीबाट १५२ किलोमिटर र सिजाङको राजधानी ल्हासाबाट ३९९ किलोमिटर टाढा छ। केन्द्रविन्दु आसपासको औसत उचाइ समुद्री सतहबाट करिब चार हजार ८०० मिटर छ। यस क्षेत्रको आसपासमा जनघनत्व कम छ।

चीन भूकम्प सञ्जाल केन्द्रका अनुसार बिहीबार राति ११ बजेर १२ मिनेटमा जादोई काउन्टीमा पनि ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त काउन्टी बाछेनसँग सीमा जोडिएको क्षेत्रमा पर्छ।

भूकम्प गएको क्षण सम्झँदै बाछेनका एक स्थानीय बासिन्दाले सिजाङ डेली लाई आफ्नो परिवार सुतिसकेको अवस्थामा अचानक ठूलो कम्पन महसुस भएको बताएका छन्। ‘अचानक ठूलो गर्जनसहितको कम्पन आयो। एकैपटक सयौँ याक दौडिएजस्तो महसुस भयो’, उनले भने।

चीन भूकम्प सञ्जाल केन्द्रका अनुसार यस वर्ष चीनमा गएको यो सबैभन्दा शक्तिशाली भूकम्प हो। यसअघि चीनमा ७ म्याग्निच्युडभन्दा बढीको भूकम्प सन् २०२४ जनवरी २३ मा उत्तरपश्चिमी सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको उशी काउन्टीमा गएको थियो। त्यसबेला ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

यसैबीच चीनको अर्थ मन्त्रालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले शुक्रबार सिजाङमा उद्धार कार्य सञ्चालन गर्न तथा प्रभावित बासिन्दालाई सहायता उपलब्ध गराउन पाँच करोड युआन (७४ लाख ४० हजार अमेरिकी डलर) केन्द्रीय प्राकृतिक विपद् राहत रकम विनियोजन गरेका छन्।

राष्ट्रिय विकास तथा सुधार आयोगले पनि भूकम्प प्रभावित क्षेत्रका पूर्वाधार र सार्वजनिक सुविधाको आपत्कालीन पुनःस्थापनाका लागि केन्द्रीय बजेटबाट तीन करोड युआन छुट्याएको छ।

प्रकाशित: ६ कार्तिक २०८३ १६:५४ | Friday, October 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast