यात्रुलाई बासी खाना खुवाए चालक र होटल सञ्चालकलाई कारबाही हुने

हिमाल प्रेस २७ असोज २०८३ १७:५९ | Tuesday, October 13, 2026
4
SHARES
यात्रुलाई बासी खाना खुवाए चालक र होटल सञ्चालकलाई कारबाही हुने नयाँ बसपार्क

काठमाडौँ- सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुले खाना तथा खाजा खाने होटल र रेस्टुरेन्टमा बासी, झिँगा भन्केका र न्यून गुणस्तरका खाद्य पदार्थ बिक्री गरेको पाइएमा सम्बन्धित सवारी चालक र होटल सञ्चालकलाई कारबाही गरिने भएको छ।

यातायात व्यवस्था विभागले यात्रुहरूलाई गुणस्तरहिन खाना उपलब्ध गराउने र चर्को मूल्य असुल्ने प्रवृत्ति नियन्त्रण गर्ने उद्देश्यले विभिन्न निर्णय गरेको हो।

विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनका चालक, होटल तथा रेस्टुरेन्ट व्यवसायी र यात्रुहरूलाई लक्षित गरी सूचना जारी गर्दै सफा, स्वच्छ र गुणस्तरीय खाना उपलब्ध हुने होटल तथा रेस्टुरेन्टमा मात्रै यात्रुहरूलाई खाजा, नास्ता र खाना खान रोक्न आग्रह गरेको छ।

सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिन सवारी चालकहरूलाई अनुरोध गरिएको छ।

होटल तथा रेस्टुरेन्टले उपलब्ध गराएको खाजा, नास्ता वा खानाको गुणस्तरका कारण यात्रु बिरामी भएको गुनासोबारे सम्बन्धित निकायले सूक्ष्म निगरानी गरिरहेको विभागले जनाएको छ।

यस्तो अवस्थामा यात्रु बिरामी भएको पुष्टि भएमा सम्बन्धित सवारी चालक र होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने सूचनामा उल्लेख छ।

त्यस्तै, होटल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छता र गुणस्तरमा कमी भएको वा खानाको मूल्यमा ठगी भएको पाइएमा यात्रुहरूलाई नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गरी जानकारी गराउन आग्रह गरिएको छ।

यात्रुहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र मातहतका नजिकका कार्यालयमा समेत उजुरी तथा जानकारी गराउन सक्नेछन्।

प्रकाशित: २७ असोज २०८३ १७:५९ | Tuesday, October 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast