भेडाच्यांग्राको व्यापारमा व्यस्त छन् साइपालका व्यापारी, १५ वर्षदेखि दसैँ घरबाहिर

हिमाल प्रेस २६ असोज २०८३ १४:०८ | Monday, October 12, 2026
8
SHARES
भेडाच्यांग्राको व्यापारमा व्यस्त छन् साइपालका व्यापारी, १५ वर्षदेखि दसैँ घरबाहिर

बझाङ- घरमा आमा छन्, परिवार छ र आफन्त पनि छन्। दसैँमा टीका र जमरा लगाउने तथा तिहारमा दाजुभाइ र दिदीबहिनीसँग खुसी साट्ने रहर पनि छ। तर बझाङको साइपाल गाउँपालिकाका घुरनबहादुर बोहराका लागि चाडपर्व घर फर्किने समय होइन, व्यापारका लागि घर छाड्ने समय हो।

भेडाच्यांग्राको बथान लिएर पोखरा र काठमाडौँ पुग्ने घुरनका लागि दसैँतिहार व्यापारको व्यस्त समय हो। सहरका भान्सामा हिमाली भेडाच्यांग्राको मासु पाकिरहँदा उनी भने आफ्नै घरमा आमाको हातबाट टीका थाप्न र परिवारसँग बसेर दसैँ मनाउनबाट वञ्चित छन्।

घुरनसहितका व्यापारीको श्रमले सहरको चाडपर्वमा स्वाद थपे पनि उनीहरू आफ्नै चाडको खुसीबाट टाढा छन्। साइपाल गाउँपालिका-१ धलौनका घुरनले आमाको हातबाट दसैँको टीका नथापेको १५ वर्षभन्दा बढी भइसकेको छ।

भेडाच्यांग्राको व्यापार उनको आम्दानीको महत्त्वपूर्ण स्रोत हो। त्यसैले घर फर्किने रहर हुँदाहुँदै पनि व्यापारको जिम्मेवारीले उनलाई बजारतर्फ डोर्‍याउँछ। आमाको आशीर्वाद फोनबाटै लिनुपर्छ भने सन्तानलाई शुभकामना पनि फोनबाटै दिनुपर्छ।

‘घरको एक्लो छोरो, त्यो पनि घर नहुँदा आमालाई दसैँ आएजस्तो नै लाग्दैन। परिवारको मुख्य व्यक्ति नहुँदा चाडपर्व टाढिएकै जाती भन्छन्’, घुरनले सुनाए।

साइपाल गाउँपालिका-२ धलौनका उज्ज्वल बोहराको अनुभव पनि उस्तै छ। उनले पनि डेढ दशकदेखि दसैँतिहार परिवारसँग बसेर मनाउन पाएका छैनन्। उनको दसैँ बाटोमै बित्छ भने तिहार सहरको व्यस्ततामै सकिन्छ।

‘वर्षभरिको आम्दानी हुने चाडवाडको बेला दसैँ सम्झेर घरमै बस्न सकिँदैन। परिवारलाई सम्झनुपर्छ र बाटो लाग्नुपर्छ’, उज्ज्वलले भने।

घुरन, उज्ज्वल, राजेन्द्र र सुरेन्द्रजस्ता व्यापारी तथा सहयोगी साइपालमा सय जनाभन्दा बढी छन्। साइपालबाट भेडाच्यांग्रा लिएर पोखरा र काठमाडौँ जानेको सङ्ख्या डेढ सयभन्दा बढी हुने गरेको छ। ट्रक चालक बजार पुगेको भोलिपल्टै फर्किए पनि भेडाच्यांग्राका साहु र सहयोगीलाई पशु बिक्री गर्न समय लाग्छ। त्यसैले उनीहरूको दसैँ-तिहार बाटोमै बित्ने गरेको छ।

कहिलेकाहीँ बाटोमा कसैले टीका लगाइदिएमा भने पर्व मनाएको अनुभूति हुने गरेको साइपाल–१ का रमेश धामीले बताए। ‘बीचमा कसैले टीका लगाइदिएमा कानमा जमरा सिउरिएर पर्व मनाएको अनुभूति गर्न पाइन्छ’, उनले भने,‘नत्र निधारमा टीका र कानमा जमरा नलगाई चाड बित्छ। परिवारसँगको भेटघाट र सामूहिक खुसी व्यापारको व्यस्तताले टाढा पुर्‍याउँछ।’

सहयोगीबाट व्यापारी बने घुरन

साइपालबाट व्यावसायिक रूपमा भेडाच्यांग्रा पोखरा पठाउन २०६८ सालदेखि थालिएको हो। त्यसअघि साइपालका युवा मुगु, हुम्ला र जुम्लाका व्यापारीसँग सहयोगीका रूपमा पोखरा जाने गर्थे। स्थानीय भेडाच्यांग्रा खरिद गर्न आउने व्यापारीले पशुको हेरचाह र ढुवानीमा सघाउने मानिस खोज्थे।

घुरनले पनि २०६४ सालमा सहयोगीका रूपमा पोखरा पुगेर यो व्यवसायको अनुभव बटुलेका थिए। ‘म सुरुमा २०६४ सालमा सहयोगीको रूपमा पोखरा पुगेको थिएँ’, उनले भने,‘मुगु, हुम्ला, जुम्लाका व्यापारी हाम्रै भेडाच्यांग्रा किन्न आउँथे। भेडासँगै सहयोगी पनि खोज्थे। उनीहरूसँग आफ्नै भेडाच्यांग्राका सहयोगी भएर गन्तव्यमा पुग्थ्यौँ। साहुले काम गरेको पैसा दिन्थे र फर्किन्थ्यौँ।’

सहयोगीका रूपमा काम गर्दा पशु खरिद, ढुवानी र बिक्रीसम्बन्धी अनुभव हासिल गरेको उनले बताए। चार वर्षसम्म सहयोगीका रूपमा काम गरेपछि आफ्नै समूह बनाएर भेडाच्यांग्राको व्यापारमा लागेको उनको भनाइ छ। ‘सहयोगीका रूपमा चार वर्षको अनुभवपछि आफैँले टिम बनाएर व्यावसायिक रूपमा भेडाच्यांग्रा निर्यातमा लागेँ’, उनले भने।

सुरुका वर्षमा कर्णालीका विभिन्न जिल्ला हुँदै भेडाच्यांग्रा हिँडाएर पोखरा पुर्‍याउनुपर्थ्यो। अहिले भने ट्रकमा ढुवानी गरिन्छ। ‘सुरुको वर्ष कर्णालीका विभिन्न जिल्ला हुँदै पोखरा भेडा हिँडाएर पुर्‍यायौँ। त्यो बेलामा बेच्दै हिँड्दै गर्‍यौँ। ठ्याक्कै एक महिना लागेको थियो’, घुरनले भने।

उच्च हिमाली क्षेत्रमा जडीबुटी र प्राकृतिक घाँस खाएर हुर्किएका भेडाच्यांग्राको मासु पोखरामा विस्तारै लोकप्रिय हुँदै गएको व्यापारीको अनुभव छ। पोखराबाट सुरु भएको बजार अहिले काठमाडौँसम्म फैलिएको छ। साइपालका व्यापारी राजेन्द्रबहादुर धामीका अनुसार ग्राहक बढ्दै गएपछि कतिपय उपभोक्ताले व्यापारी पुग्न ढिला भए पनि भेडाच्यांग्राको प्रतीक्षा गर्ने गरेका छन्। ‘पोखराबाट सुरु भएको बजार काठमाडौँसम्म फैलिएको छ। ग्राहक बढेसँगै कतिपयले व्यापारी पुग्न ढिला भए पनि प्रतीक्षा गर्ने गरेका छन्’, उनले भने।

यसले हिमाली क्षेत्रका पशुपालक र व्यापारीका लागि नयाँ बजारको सम्भावना खोलेको छ। गाउँमा पालिएका पशु स्थानीय बजारमा मात्र सीमित नरही टाढाका उपभोक्तासम्म पुग्न थालेका छन्।

उपभोक्तासम्म पुर्‍याउन अनेक चुनौती

बझाङबाट पोखरा भेडाच्यांग्रा पुर्‍याउन सामान्य अवस्थामा पाँच दिन लाग्छ। कतिपय अवस्थामा एक सातासम्म बाटोमै बिताउनुपर्ने हुन्छ। पशुलाई दिनभर गाडीमा राखेर लैजान नसकिने भएकाले बिहानदेखि दिनभर नजिकका वन तथा चरन क्षेत्रमा चराउनुपर्छ। साँझ परेपछि मात्रै गाडीमा लोड गरेर यात्रा अघि बढाइन्छ।

धामीका अनुसार धेरै सङ्ख्यामा भेडाच्यांग्रा एकैपटक लैजाँदा व्यवस्थापनमा थप चुनौती हुने गरेको छ। यस वर्ष मात्रै साइपाल गाउँपालिकाबाट ३८ ट्रक भेडाच्यांग्रा पोखरा र काठमाडौँका लागि पठाइएको छ। गत वर्ष यस्तो सङ्ख्या २८ ट्रक थियो। जिल्लाभरबाट भने करिब ६० ट्रकबराबर भेडाच्यांग्रा पोखरा निर्यात हुने गरेको धामीले बताए।

व्यापारीका अनुसार एउटा ट्रकमा औसत ६५ वटा भेडाच्यांग्रा अटाउँछन्। यस हिसाबले साइपालबाट यस वर्ष पठाइएका ३८ ट्रकमा करिब दुई हजार ४७० वटा भेडाच्यांग्रा ढुवानी भएका छन्।

गाउँपालिकाले भेडाच्यांग्रा निर्यातबापत प्रतिगोटा १०० रुपैयाँका दरले राजस्व स‌ंकलन गर्ने गरेको छ। साइपाल गाउँपालिकाका नायब प्राविधिक सहायक सुमन सिंहका अनुसार कार्यपालिकाको निर्णयअनुसार उक्त दरमा राजस्व उठाउने गरिएको हो। ‘पालिकाको कार्यपालिकाको निर्णयअनुसार राजस्वबापत प्रतिगोटा रु १०० का दरले स‌ंकलन गरेका छौँ’, उनले भने।

उनका अनुसार बझाङका सुर्मा, छबिसपाथिभेरा, बुङ्गल नगरपालिका, मस्टा, साइपाल र तलकोट गाउँपालिकाले पनि यसरी नै राजस्व स‌ंकलन गर्ने गरेका छन्। पशुको सङ्ख्या यकिन गरेपछि पालिकाको सिफारिससहित आवश्यक कागजात तयार पारेर भेडाच्यांग्रा निर्यात गरिन्छ।

साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीका अनुसार एउटा भेडाच्यांग्रा बजारसम्म पुर्‍याउँदा पाँच हजार रुपैयाँसम्म अतिरिक्त खर्च हुन्छ। गाउँमै एउटा भेडाच्यांग्रा खरिद गर्न २५ हजारदेखि ३० हजार रुपैयाँसम्म लगानी गर्नुपर्ने उनको भनाइ छ। खरिदपछि ढुवानी, चरिचरन, खाना, जनशक्ति र बाटोमा लाग्ने अन्य खर्च थपिन्छन्। तर बजारमा अपेक्षित मूल्य नपाएमा व्यापारीले घाटा व्यहोर्नुपर्ने अवस्था आउँछ।

‘रु २५–३० हजारसम्ममा भेडाच्यांग्रा खरिद गर्नुपर्छ’, धामीले भने,‘तर बजारमा कहिलेकाहीँ राम्रो मूल्य नपाउँदा निकै घाटा व्यहोर्नुपर्ने हुन्छ।’  धेरै पशु एकैपटक खरिद गर्ने व्यापारीले ठूलो रकम लगानी गर्नुपर्छ। बजारसम्म पुग्दा थप खर्च भइसकेको हुन्छ तर बिक्री मूल्यको सुनिश्चितता हुँदैन। अपेक्षित मूल्य नपाएमा लगानी उठाउनसमेत कठिन हुने गरेको धामीले बताए।

व्यापारमा उपभोक्ताको धारणा पनि अर्को जोखिमका रूपमा देखिएको छ। धामीका अनुसार अघिल्लो वर्ष बझाङबाट लगिएका च्यांग्रा वास्तविक नभएको भन्ने अफवाह फैलिएपछि बजार प्रभावित भएको थियो। त्यसपछि व्यापारीले लिलामी गरेजस्तै गरी पशु बेचेर फर्किनुपरेको उनले सुनाए।

लामो दूरीको यात्रामा आर्थिक जोखिमसँगै सामाजिक र व्यावहारिक कठिनाइ पनि भोग्नुपर्ने व्यापारीको गुनासो छ। बाटोमा पशु चराउन स्थानीयसँग अनुमति लिनुपर्छ। कतिपय ठाउँमा चरन प्रयोग गरेबापत रकमसमेत तिर्नुपर्छ। तर पैसा तिरेपछि पनि सहज व्यवहार नपाइने गरेको उनीहरू बताउँछन्। ‘चराउन नपाए भेडा च्यांग्रा बाटोमै मर्छन्। कतै बिरामी हुन्छन्। त्यस्तो अवस्थामा सबै नोक्सान हुन्छ। बाटोमा चरिचरन गर्दा स्थानीयबाट अपमान सहनुपर्छ, गाली सहनुपर्छ’, धामीले भने।

बाटोमा सुरक्षा निकायबाट पनि अनावश्यक झन्झट व्यहोर्नुपरेको व्यापारीको गुनासो छ। आवश्यक प्रक्रिया पूरा गरेर कागजातसहित यात्रा गर्दा पनि विभिन्न बहानामा रोक्ने गरिएको उनीहरूको भनाइ छ। ‘हामी जिल्लाबाट बाहिर जाँदा सबै कागजात तयार गरेर मात्रै जान्छौँ। तर, बीचमा सुरक्षा निकायले कतै कागजात नपुगेको, लाइसेन्स वा बिलबुकसम्बन्धी कतै न कतै खोट देखाएर झमेलामा अल्झाउँछन्’, घुरनले भने।

प्रकाशित: २६ असोज २०८३ १४:०८ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast