काठमाडौँ- साहित्यकार प्रतिभा पौडेलको सातौँ कृतिका रूपमा प्रकाशित महाकाव्य ‘तितिक्षा’ इलाममा लोकार्पण गरिएको छ। महाकाव्यमा २२५१ श्लोक, १७ सर्ग र १६ छन्दको प्रयोग गरिएको छ। कवि पौडेलका अनुसार महाकाव्यमा महाभारतकालीन कथालाई नयाँ ढंगले प्रस्तुतिकरण गरिको छ। कितावको प्रमुख पात्र महाभारतकालीन पात्र कर्ण हुन्। कर्णको संघर्ष र जीवनका बारेमा पौडेलले पुस्तकमार्फत चर्चा गरिएको छ।
`कितावमा महाभारतकालीन महिला र हालका महिलाका पीडाको तुलना गरिएको छ। महाकाव्यको प्रमुख पात्र कर्ण हुन्। पुस्तकमा कर्णसँग जोडिएका महिला विषयमा वर्णन गरिएको छ।´पौडेलले भनिन्।
इलाममा बसेर विशेष गध्य छन्दमा कलम चलाउने प्रतिभाको यो पहिलो महाकाव्य हो। यसअघि पौडेलले २०५९ सालबाट कृति लेखन सुरु गरेकी हुन्।
२०६९ सालमा गंगा खण्डकाव्य, `झुल्केघाम र तृष्णा´ २०७३ सालमा, अक्षरमा मेची-मूच्छर्ना- २०७३, पूर्वाञ्चलीय नारी स्रष्टा कोष (खोज २०७७), पूर्वका साहित्य सारथि (जीवनसंग्रह २०७८), सन्धान (छन्दोबद्ध कवितासंग्रह २०७९), इलामे चेलीका रचनाहरू (सामूहिक २०५९), मेची पद्माला (सामूहिक २०५९) लेख्नुभएको छ। लेखक पौडेलका अनुसार `तितिक्षा´को अर्थ सहिष्णुता भन्ने हुन्छ। महिलाको सहनशिलताका विषयमा कवितामार्फत उजागर गर्न खोजिएको छ।
इलाम नगरपालिका अन्तर्गतको साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा नगरप्रमुख केदार थापाको प्रमुख आतिथ्यतामा महाकाव्य लोकार्पण गरिएको हो।
‘तितिक्षा’माथि साहित्यकर्मी इन्द्रनारायण सुबेदी, अन्वेष थुलुङ, सोम निरौला र टीका घिमिरेलगायतले समीक्षा गरेका थिए । कार्यक्रममा कवि विमल वैद्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले यो महाकाव्य सम्भवतः नारीद्वारा लिखित पूर्वकै पहिलो भएको उल्लेख गरेका थिए।
लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय पौडेलका विभिन्न साहित्यिक विधाका कृति प्रकाशित भइसकेका छन् । उनले समाजमा भइरहेको बेथिति तथा महिलाले भोग्नुपरेका दुःख, कष्ट र संघर्षलाई आधार बनाएर ‘तितिक्षा’ महाकाव्य लेखेको बताइन् । महाकाव्य लेखनका लागि लामो समय अध्ययन गरेपछि कृति सिर्जना गरेको उनको भनाइ छ ।
नगरप्रमुख थापाले साहित्य क्षेत्रमा महिलाको उपस्थिति तुलनात्मक रूपमा कम देखिए पनि पौडेलले निरन्तर साहित्य सिर्जना गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताए । महाकाव्यजस्तो बृहत् साहित्यिक विधामा प्रवेश गरी कृति प्रस्तुत गर्नु प्रशंसनीय रहेको उनले बताए ।
कार्यक्रममा सहभागी साहित्यकार तथा स्रष्टाहरूले स्थानीय भूगोलमा बसेर निरन्तर साहित्य सिर्जना गर्नु इलामको साहित्यिक पहिचानका लागि सकारात्मक पक्ष भएको बताए। महाकाव्यजस्तो बृहत् विधामा महिला स्रष्टाको सक्रियताले नेपाली साहित्यमा महिलाको सिर्जनात्मक सहभागितालाई थप बल पुग्ने अपेक्षा गरिएको छ ।
साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार, स्रष्टा, कलाकर्मी तथा साहित्यप्रेमीहरूको उपस्थिति थियो ।


