भोटेकोशी बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय समिति गठन

हिमाल प्रेस ३१ भदौ २०८३ १७:४० | Wednesday, September 16, 2026
भोटेकोशी बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय समिति गठन भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको प्रहारबाट विदुर नगरपालिका वडा नं १० गेर्खुखोला दोबानस्थित मझुवामा पहाड नै फोरेर पर्‍याएको क्षति। बाढीको बहाबको दबाबले पहाड फोरेर पसेको बाढीले यस आसपासका बस्ती र खेतीयोग्य भूमि क्षति बनाई बगरमा परिणत गर्दै नदीको बहाब नै फेरिएको छ। तस्बिरः रामहरि न्यौपाने/रासस

काठमाडौँ- सरकारले रसुवाको भोटेकोशी बाढीको वास्तविक कारण र प्रकृतिबारे वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो। समितिलाई दुई महिनाभित्र अध्ययन सम्पन्न गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार समितिमा जलविद् डा.नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा.रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा.उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा.मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा.हरि पण्डित र विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य छन्।

समितिले बाढीको सम्भावित उद्गमस्थलदेखि भोटेकोशी-ल्हेन्दे नदी प्रणाली र प्रभावित तटीय क्षेत्रसम्म पुगेर स्थलगत अध्ययन गर्नेछ।

मन्त्रालयका अनुसार अध्ययनले बाढीको उत्पत्ति, हिमाली भू-जोखिम, घटनाको कार्यकारण शृङ्खला र जलवायु परिवर्तनको सम्भावित प्रभाव वैज्ञानिक आधारमा विश्लेषण गर्नेछ। जल तथा ऊर्जा आयोगको सचिवालयको सिफारिसअनुसार यो विपद्लाई सामान्य बाढीभन्दा फरक प्रकृतिको सम्भावित ‘शृङ्खलाबद्ध विपद्’ का रूपमा अध्ययन गरिनेछ।

यसअघि जल तथा ऊर्जा आयोगअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको प्रारम्भिक अध्ययनमा घटनाको उद्गम, सुरुआती भौतिक प्रक्रिया र बाढीको फैलावटबारे पर्याप्त वैज्ञानिक प्रमाण नपुगेको निष्कर्ष निकाल्दै विस्तृत अध्ययन आवश्यक रहेको सुझाव दिएको थियो।

मन्त्रालयका अनुसार अध्ययनले भूगर्भ, तापक्रम, हिमनदी, जलप्रवाह र नदी प्रणालीबीचको सम्बन्ध विश्लेषण गर्नेछ। बाढीबाट ऊर्जा पूर्वाधारमा पुगेको क्षतिबाट सिक्दै भविष्यमा जलविद्युत् आयोजनाको उत्थानशीलता र विपद् पूर्वतयारी कसरी सदृढ गर्ने भन्ने विषय पनि समेटिनेछ।

समितिले तीन चरणमा अध्ययन गर्नेछ। पहिलो चरणमा घटनाको समयक्रम, भौगोलिक क्षति र नदी प्रणालीको अवस्था विश्लेषण हुनेछ। दोस्रो चरणमा बाढीका तत्कालीन र अन्तर्निहित भौतिक कारण पहिचान गरिनेछ। तेस्रो चरणमा मानवजनित जलवायु परिवर्तनले जोखिमको सम्भावना, तीव्रता वा पूर्वअवस्थामा पारेको प्रभाव वैज्ञानिक रूपमा मूल्यांकन गरिनेछ।

अध्ययनका क्रममा ड्रोन, सेटलाइट, रिमोट सेन्सिङ, जिआईएस, मौसम तथा जलप्रवाहका तथ्यांक प्रयोग गरिनेछ। आवश्यक परे चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जलवैज्ञानिक सूचना पनि समेट्ने तयारी मन्त्रालयले गरेको छ।

मन्त्रालयका अनुसार अध्ययन प्रतिवेदनपछि घटनाको वैज्ञानिक प्रकृति पुष्टि भएपछि भोटेकोशी बाढीलाई उपयुक्त वैज्ञानिक नामकरण गर्ने योजना पनि छ।

मन्त्रालयका अनुसार रसुवा-भोटेकोशीको घटना सामान्य अतिवृष्टि वा तापक्रमजन्य विपद्भन्दा फरक प्रकृतिको हुन सक्ने भएकाले जलवायु, हिममण्डल, भूगर्भ, भूरूप विज्ञान र जलविज्ञानबीचको अन्तरसम्बन्ध वैज्ञानिक रूपमा बुझ्न आवश्यक देखिएको हो।

अध्ययनले घटनाको मूल कारण, क्रमिक रूपमा सक्रिय भएका प्राकृतिक प्रक्रिया, जलवायु परिवर्तनको योगदान र गैर-जलवायुगत कारणको भूमिका स्पष्ट पार्ने लक्ष्य राखेको छ।

अध्ययनमा मौसम, वर्षा, तापक्रम, जलप्रवाह, हिमनदी, भूगर्भीय अवस्था, भूरूपात्मक परिवर्तन, रिमोट सेन्सिङ र जिआईएस तथ्यांकको विश्लेषण गरिनेछ।

स्थलगत अनुसन्धानमार्फत चट्टानको अवस्था, ढलानको स्थिरता, पहिरोको सम्भावना, नदीको आकृति र अवसादको बहावसमेत परीक्षण हुनेछ। स्रोत क्षेत्रमा चट्टान खस्ने सम्भावित कारण, आयतन र प्रभावबारे पनि विस्तृत अध्ययन गरिनेछ।

समितिले घटना अघिको वर्षा, तापक्रम, हिमपात, हिउँ पग्लने अवस्था, दीर्घकालीन तापक्रम तथा वर्षाको प्रवृत्ति, चरम वर्षाका घटना र नदीको बहावको पुनरावृत्ति अवधिको विश्लेषण गर्नेछ।

यससँगै हिमनदीको आकार, मास ब्यालेन्स, हिमताल, स्थायी तुषारभूमि र जम्ने-पग्लिने प्रक्रियाको अध्ययन गरेर जलवायु परिवर्तनले घटना हुन आवश्यक पूर्वअवस्था सिर्जना गरेको थियो वा थिएन भन्ने वैज्ञानिक परीक्षण गरिनेछ।

मन्त्रालयका अनुसार यो घटना एउटै कारणबाट नभई हिममण्डलीय, भूगर्भीय, भूरूपात्मक र जलविज्ञानसम्बन्धी प्रक्रियाको क्रमिक अन्तरक्रियाबाट विकसित भएको हुन सक्ने भएकाले सम्पूर्ण कार्यकारण शृंखलाको अध्ययन गरिनेछ।

उच्च हिमाली क्षेत्रको परिवर्तन, चट्टान वा हिमचट्टानको अस्थिरता, मास मुभमेन्ट, नदीमा अवसादको प्रवेश र पानीसँग मिसिएको बहावको प्रभावलाई एकीकृत रूपमा विश्लेषण गरिनेछ।

प्रकाशित: ३१ भदौ २०८३ १७:४० | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast