केरुङको पाँचतले भन्सार भवनको भग्नावशेषमा सयौँ बेपत्ताको खोजी तीव्र

हिमाल प्रेस २१ भदौ २०८३ १६:१४ | Sunday, September 6, 2026
केरुङको पाँचतले भन्सार भवनको भग्नावशेषमा सयौँ बेपत्ताको खोजी तीव्र केरुङ बन्दरगाहको मुख्य क्षेत्रमा सडक सफा गर्दै उद्धारकर्मी। तस्बिर : सिह्नवा/रासस

काठमाडौँ- नेपालसँगको चीनको प्रमुख सीमा नाका विशाल पहिरोले बगाएपछि बेपत्ता भएका सयौँ मानिसको खोजीका लागि चिनियाँ उद्धारकर्मीले खोजी तथा उद्धार अभियान तीव्र पारेका छन्।

चम्किलो सुन्तला रङको पोसाक लगाएका करिब २० चिनियाँ उद्धारकर्मीले उत्खनन मेसिन, बेल्चा तथा जमिनभित्रको अवस्था पत्ता लगाउने राडार उपकरण प्रयोग गर्दै बेपत्ताको खोजी गरिरहेको समाचार चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

चीनको तिब्बत र नेपाललाई जोड्ने केरुङ सीमा नाकामा नेपालको सीमातर्फ हिमनदी खसेपछि आएको सुनामीजस्तो शक्तिशाली पहिरोबाट भएको विनाशको प्रमुख प्रतीक बनेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिले चिनियाँ परराष्ट्र मन्त्रालयले विदेशी सञ्चारमाध्यमका लागि आयोजना गरेको पहिलो भ्रमणका क्रममा साँघुरो नदीको खोंचमा रहेको उक्त नाकाको स्थलगत अवलोकन गरेका थिए।

पहिरोअघि त्यहाँ रहेको पाँचतले चिनियाँ भन्सार भवनको भग्नावशेषसमेत देखिएको छैन। घटनास्थलका भिडियो तथा तस्बिरमा पहिरोअघि देखिने एक मात्र संरचनाका रूपमा नजिकैको पानी ट्यांकीको केही भाग देखिएको छ। सीमा नाका रहेको स्थानमा चिनियाँ कामदारले चिनियाँ झन्डासमेत राखेका छन्।

‘खतरनाक क्षेत्र, छिटो पार गर्नुहोस्’ लेखिएका चेतावनी संकेतपछाडि आइतबार दिउँसो करिब २०–२० जनाका तीन समूहले बेल्चाको सहायताले माटो खोतलिरहेका थिए। नजिकै रातो रङका केही उत्खनन मेसिन तयारी अवस्थामा राखिएका थिए।

चिनियाँ अधिकारीहरूका अनुसार उद्धारकर्मीले खोजी क्षेत्रलाई सात भागमा विभाजन गरेका छन्। तीमध्ये चार क्षेत्रमा खोजी पूरा भइसकेको छ भने तीन क्षेत्रमा अझै खोजी जारी छ।

नेपाल र चीन दुवैतर्फको विपत्तिमा झन्डै एक हजार चार सय मानिसको मृत्यु भएको छ भने पाँच हजारभन्दा बढी बेपत्ता छन्।

चीनतर्फ ४३ जनाको मृत्यु पुष्टि भएको छ भने पाँच सय १९ जना अझै बेपत्ता छन्। बेपत्तामध्ये २३ देशका दुई सय ६१ जना विदेशी नागरिक रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

केरुङ जिल्लाको औसत उचाइ समुद्री सतहबाट चार हजार मिटरभन्दा बढी छ। यद्यपि सीमा नाका करिब एक हजार आठ सय मिटरको उचाइमा छ। पहिरोको जोखिम, प्रतिकूल मौसम र गहिरो हिलोका कारण उद्धार तथा खोजी कार्य थप कठिन बनेको छ।

चीनतर्फबाट केरुङ पुग्ने एक मात्र स्थलमार्ग पुनः सञ्चालनमा ल्याइएको छ। त्यसपछि उद्धार तथा भविष्यमा पुनर्निर्माणका लागि आवश्यक भारी उपकरण घटनास्थलमा पुर्‍याउन सम्भव भएको छ। सिन्ह्वाका अनुसार पहिरो प्रभावित केरुङ बन्दरगाहमा सडक सुदृढीकरण तथा पुनःस्थापनाको काम तीव्र पारिएको छ।

पहिरोबाट प्रभावित बन्दरगाहको मुख्य क्षेत्रमा सडक सुदृढीकरणका लागि कामदारहरूले ढुंगा ओसारिरहेका छन्। सडकको संरचना बलियो बनाउन चाइना रेलवे ग्रुप लिमिटेडले घटनास्थलमा स्टिल ग्याबियन उपलब्ध गराएको छ। उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक उपकरण र सामग्री घटनास्थलमा पुर्‍याएर काम अघि बढाइएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
पहिरोका कारण सीमा नाका, सडक तथा आसपासका संरचनामा क्षति पुगेपछि चीनले उद्धारसँगै पूर्वाधार पुनःस्थापनाको काम अघि बढाएको हो।

चिनियाँ सरकारी सञ्चारमाध्यमले अस्थायी विद्युतीय पोल गाडेर क्षेत्रको विद्युत् आपूर्ति पुनः जोड्ने काम भइरहेको दृश्यसमेत सार्वजनिक गरेका छन्।

गत एक दशकमा केरुङ नेपाल र तिब्बतबीच यात्रु तथा व्यापारका लागि प्रमुख सीमा नाका बनेको छ। सन् २०१५ को नेपाल भूकम्पले तातोपानी नाकामा ठूलो क्षति पुर्‍याएपछि केरुङको महत्त्व अझ बढेको हो।

चीनबाट नेपालतर्फ विद्युतीय कारलगायत सामान पठाउने प्रमुख मार्गका रूपमा रहेको केरुङ पछिल्ला वर्षमा हजारौँ हिन्दु तीर्थयात्रीका लागि पनि प्रमुख प्रवेशद्वार बनेको थियो।

धेरै हिन्दु तीर्थयात्री नेपाल हुँदै तिब्बतस्थित उच्च हिमाली क्षेत्रको कैलाश पर्वत पुग्छन्। हिन्दु र बौद्ध धर्मावलम्बीका लागि कैलाश पवित्र स्थल हो। हिन्दु धर्मावलम्बीले कैलाशलाई भगवान् शिव र माता पार्वतीको शाश्वत निवासका रूपमा मान्छन्।

बेइजिङस्थित कूटनीतिज्ञहरूका अनुसार तिब्बतमा अझै बेपत्ता रहेका विदेशी नागरिकमध्ये धेरैजसो तीर्थयात्री थिए। बेपत्ता हुनेमा ४९ जना भारतीय नागरिक रहेको बताइएको छ।

प्रकाशित: २१ भदौ २०८३ १६:१४ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast