काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टू रिकल’को अवधारणालाई अघि बढाउने भएको छ।
‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठकले यससम्बन्धी बहसलाई थप विस्तार गर्ने र दस्तावेज निर्माण गर्ने निर्णय गरेको हो । जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने संयन्त्रका रूपमा अघि बढाउन रास्वपाले यसबारे छलफल गरेको हो।
समितिका संयोजक तथा पार्टीका महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले ‘राइट टु रिकल’लाई पार्टीले प्राथमिकताका साथ उठाइरहेको मुद्दाका रूपमा अघि बढाउने विषयमा छलफल गरेको थियो ।
रास्वपाका अनुसार बैठकमा आम मतदाताबाट निर्वाचित जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने तथा लोकतान्त्रिक निर्वाचन प्रणालीप्रति मतदाताको विश्वास अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।
बैठकले समितिको सचिवमा मनिष खनाललाई जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै, समितिअन्तर्गत चार विषयगत उपसमिति गठन गर्ने निर्णय भएको छ।
संवैधानिक तथा सम्बन्धित कानुनी प्रावधान अध्ययन समितिमा सुलभ खरेल र गजला शमिम मिकरानी, अन्तर्राष्ट्रिय प्रचलित अभ्यास अध्ययन समितिमा अनुष्का श्रेष्ठ, सरोकारवालासँगको छलफल समन्वय समितिमा समीक्षा बास्कोटा र करिस्मा कठरिया तथा सञ्चार तथा मिडिया समन्वय समितिमा प्रमोद न्यौपानेलाई जिम्मेवारी दिइएको छ।
बैठकमा महामन्त्री आचार्यसहित समिति सदस्यहरू गणेश पराजुली, प्रमोद न्यौपाने, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी र करिस्मा कठरियाको सहभागिता रहेको थियो ।


