कुलेखानी बढिरहेको पानी, जोखिम कतिको छ?

हिमाल प्रेस १० असोज २०८३ ७:४१ | Saturday, September 26, 2026
कुलेखानी बढिरहेको पानी, जोखिम कतिको छ?

काठमाडौँ- कुलेखानी जलाशयमा पानीको सतह बढ्ने क्रम जारी रहे पनि पानी बढ्ने दर भने घटेको छ। राति ९ बजेको पछिल्लो अपडेटअनुसार जलाशयको पानीको सतह १,५२३.६० मिटर पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणका उप कार्यकारी निर्देशक मदन तिम्सिनाका अनुसार अहिले जलाशयको पानीको सतह बढ्ने दर प्रतिघण्टा करिब ४ सेन्टिमिटरमा झरेको छ। पानीको सतह बढ्ने क्रम र यसको प्रवृत्तिको पछिल्लो अवस्थाका आधारमा अहिले कुलेखानी बाँधको गेट खोल्नुपर्ने वा पानी छोड्नुपर्ने अवस्था नदेखिएको तिम्सिनाले जनाएका छन्।

यसअघि निरन्तर वर्षाका कारण जलाशयमा पानीको सतह तीव्र गतिमा बढेको थियो। बिहान ७:१५ बजे पानीको सतह १,५२२.३८ मिटर पुगेको थियो। त्यसयता करिब १४ घण्टामा पानीको सतह १.२२ मिटर बढेको छ। कुलेखानी जलाशयको अधिकतम जलसतह १,५३० मिटर हो। राति ९ बजेको अवस्थामा जलाशयको पानीको सतह उक्त सीमाभन्दा ६.४० मिटर तल छ।

यसैबीच, सम्भावित बाढीजन्य जोखिमलाई ध्यानमा राख्दै कुलेखानी प्रथम जलविद्युत् केन्द्रले पूर्वतयारी तथा सूचना प्रणालीलाई थप सक्रिय बनाएको छ। नेपाल विद्युत् प्राधिकरणको लोड डिस्प्याच सेन्टर (एलडीसी) को समन्वयमा जलाशयमा पानीको सतह थप बढ्न नदिन कुलेखानी प्रथम जलविद्युत् केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको छ।

बाँध क्षेत्रमा थप अनुभवी टोली परिचालन गरिएको छ भने ड्याममा रहेको डिजेल जेनेरेटर (डीजी) को जाँच गरी दुरुस्त अवस्थामा राखिएको छ। ड्याम नियन्त्रणअन्तर्गत पाँच किलोमिटर दूरीसम्म सुनिने साइरनको व्यवस्था गरिएको छ।

सम्भावित आपत्कालीन अवस्थाबारे स्थानीयलाई पूर्वजानकारी दिन देउराली, सिमखोला, हेभी, खानीखोला र सिस्नेरी प्रहरी चौकीमा साइरनसम्बन्धी सूचना तथा सचेतनामूलक फ्लेक्स राखिएको छ।

त्यस्तै, ड्यामको तल्लो तटीय क्षेत्रमा रहेका सिस्नेरी प्रहरी चौकी र इन्द्रसरोवर गाउँपालिकाको नयाँ भवनमा जडान गरिएका इलेक्ट्रिक साइरनका लागि डिजेल जेनेरेटर जडान गरिएको छ। साइरन सञ्चालन गर्ने सम्बन्धमा सम्बन्धित टोलीलाई अभ्याससमेत गराइएको केन्द्रले जनाएको छ।

प्रकाशित: १० असोज २०८३ ७:४१ | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast