अधिवेशनमार्फत पार्टी एकढिक्का रहेको सन्देश दिन जरुरी छ : पौडेल

हिमाल प्रेस ७ असोज २०८३ १७:१८ | Wednesday, September 23, 2026
6
SHARES
अधिवेशनमार्फत पार्टी एकढिक्का रहेको सन्देश दिन जरुरी छ : पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विभिन्न तहका अधिवेशनमार्फत पार्टी एकढिक्का भएको सन्देश दिन जरुरी रहेको बताएका छन्।

बुधबार काठमाडौँ महानगर अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

पौडेलले वडा, पालिका, प्रदेशसभा क्षेत्रीय अधिवेशन/प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले पार्टी एकढिक्का भएको सन्देश दिन जरुरी रहेको बताए।

नागरिकसँग प्रत्यक्ष जोडिने प्राथमिक संरचना वडा र पालिका नै भएकाले कांग्रेसको विचार, सन्देश र नीति प्रवाह गर्ने यी तहहरू बलियो, गतिशील र संगठित हुनु अनिवार्य रहेको उनले बताए।

पौडेलले पुराना परम्परागत राजनीतिक विचारमात्र बोकेर नहुने भन्दै नवीन विचार र नागरिकलाई प्रत्यक्ष प्रभाव पार्ने गतिविधिहरू अघि बढाउनुपर्नेमा जोड दिए।

अधिवेशनलाई केवल सभापति, सचिव वा पदाधिकारी चुन्ने प्रक्रियाका रुपमा मात्र सीमित नराखी नीतिगत सुधार र भावी कार्यदिशा तय गर्ने थलो बनाउन पनि उनले सुझाव दिए।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशैभर एकसाथ पालिका तहको अधिवेशन आयोजना गरिएको छ।

असोज ३ गते वडा अधिवेशनबाट प्रारम्भ भएको महाधिवेशनको प्रक्रिया अन्तर्गत बुधबार पालिका तहको अधिवेशन आयोजना गरिएको हो।

कांग्रेसको विधान र निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुने व्यवस्था रहेको छ। जसमा एक जना सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ भने कोषाध्यक्षको चयन सभापतिले निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट मनोनयन गर्ने वैधानिक प्रावधान रहेको छ।

कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन÷प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते शनिवार हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ।

प्रकाशित: ७ असोज २०८३ १७:१८ | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast