‘पाणिनि छन्दलहरी’ : शास्त्रीय छन्दकाव्यको दिव्य झंकार र नयाँ पुस्तामा काव्यिक चेतनाको पुनर्जागरण

रोहिणीराज तिमिल्सिना २५ भदौ २०८३ ९:०२ | Thursday, September 10, 2026
‘पाणिनि छन्दलहरी’ : शास्त्रीय छन्दकाव्यको दिव्य झंकार र नयाँ पुस्तामा काव्यिक चेतनाको पुनर्जागरण

काठमाडौँ- महर्षि पाणिनिको पावन नाममा स्थापित पाणिनि विद्यालयको सभाकक्ष भाद्र २४ गते बुधवारका दिन अमूल्य काव्यिक सुरभिले मग्मगाउन पुग्यो। कवयित्री गोमा रेग्मीद्वारा सङ्कलित एवम् त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक आचार्य रोहिणीराज तिमिल्सिनाद्वारा सम्पादित गरिमामय कृति ‘पाणिनि छन्दलहरी’ को भव्य एवम् सभ्य समारोहका बिच लोकार्पण सम्पन्न भएको छ। शास्त्रीय छन्दको सुरम्य तरङ्ग, वैदिक स्तोत्रको दिव्यता र बालबालिकाको मुखकमलबाट प्रवाहित पद्यवाचनको सङ्गमले समारोहस्थल साक्षात् सरस्वतीको साधनापीठझैँ प्रतीत हुन्थ्यो।

विद्यालयका प्राचार्य प्रकाशचन्द्र खड्काको सभाध्यक्षता एवम् विशिष्ट आध्यात्मिक व्यक्तित्व प्रा. भवानीप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा आयोजित उक्त लोकार्पण-समारोहमा विशिष्ट अतिथिका रूपमा प्राञ्जल कवयित्री सविता बराल, युवा कवि गौतम मनीष तथा समीक्षकका रूपमा वरिष्ठ कवि बलराम दाहालको ऊर्जामय उपस्थिति थियो।

समारोहमा विद्यालयकी निर्देशिका रक्षा गौतम, सह-प्राचार्य राजीव खड्का, प्रशासन-प्रमुख राजु श्रेष्ठ, वरिष्ठ शिक्षक विक्रमराज गिरि, शिक्षिकाहरू रमिला थापा, निर्मला दाहाल, ललिता थापालगायत थुप्रै विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो।

वैदिक संस्कृति र भक्तिरसले ओतप्रोत वातावरणबिच सुरु भएको कार्यक्रममा कक्षा ४ का विद्यार्थीद्वय आयान दाहाल र बिभान दाहालले सुमधुर स्तोत्रवाचन गर्दै सुमधुर गायनबाट समारोहको मङ्गलमय श्रीगणेश गरेका थिए।

राष्ट्रगानको गुञ्जनपश्चात् सम्पूर्ण सहभागी विद्यार्थीहरूले कवयित्री गोमा रेग्मीद्वारा रचित भावपूर्ण पाणिनि-गीत प्रस्तुत गरेका थिए। त्यसैगरी कक्षा ३ ‘भूमि’ का कलिला बालबालिकाहरू श्रेयस कडरिया, श्रीशा कडरिया, रिदम बुढाथोकी र सेजल ढुङ्गेलले स्रग्विणी छन्दमा रचित स्वागत-कवितामार्फत सुरिलो भाकामा उपस्थित अभ्यागतहरूको स्वागत गरे। विद्यार्थीहरूको काव्यवाचनमा विद्यालयका सङ्गीत-शिक्षकद्वय श्रीजय शाक्य एवं सुशान्त तामाङले प्रदान गरेको मधुर सङ्गीतको संयोजनले सभाकक्षमा उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो।

समारोहको मुख्य आकर्षणका रूपमा रहेको ‘पाणिनि छन्दलहरी’ कृतिको लोकार्पण प्रमुख अतिथि प्रा. भवानीप्रसाद खतिवडा, सभाध्यक्ष प्रकाशचन्द्र खड्का, समीक्षक बलराम दाहाल, कवयित्री सविता बराल, युवा कवि गौतम मनीष, कृतिका सम्पादक आचार्य रोहिणीराज तिमिल्सिनालगायत मञ्चासीन अतिथिगण र विद्यालय-परिवारबाट संयुक्त रूपमा भयो।

लोकार्पित कृतिको गहन समीक्षा गर्दै वरिष्ठ कवि बलराम दाहालले ‘पाणिनि छन्दलहरी’ ले आधुनिक समाज र तरुण पुस्तालाई सही दिशाबोध गराउने विचार व्यक्त गरे। समीक्षाका क्रममा उनले भने- ‘२१ ओटा राष्ट्रप्रेमविषयक कविता, ४० ओटा आध्यात्मिक, दार्शनिक कविता र ४७ ओटा प्रकृतिप्रेम, जीवनसङ्घर्ष, आशा-निराशा, भाषा-संस्कृति आदिविषयक कविता समेटिएको यो कृति वर्तमान समाजलाई सही दिशानिर्देश गर्नका निम्ति पर्याप्त छ। पढाउने, घोकाउने काम त जुन विद्यालयले पनि गर्छ तर ‘पाणिनि छन्दलहरी’को प्रकाशनजस्तो जुन साहित्यसेवाको कर्म पाणिनि विद्यालयले गरेको छ, यसले यस संस्थाको उचाइ अवश्य नै बढ्नेछ।’

उनले १०८ कविताको सङ्गालोमा निहित १०८ सङ्ख्याको आध्यात्मिक एवम् धार्मिक महिमामाथि समेत प्रकाश पारे। बालबालिकालाई जीवनसङ्घर्ष र साधनाको महत्त्व बुझाउन कवि दाहालले अनुष्टुप् छन्दमा रचित आफ्नो ‘काँडेतारको यात्रा’ शीर्षकको प्रेरणादायी कविता सुनाए-

छिनो हम्मर खाएर सयौं चोटि कुटेपछि।
राम्रो मूर्ति बनेको हो ढुङ्‌‌गालाई कुँदेपछि।।
घामले पसिना धारा सुक्दैन कहिल्यै पनि।
विनासङ्घर्ष लेखिन्न कसैको पनि जीवनी।। इत्यादि।

त्यसैगरी लोकार्पित कृतिका सम्पादक एवम् त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक आचार्य रोहिणीराज तिमिल्सिनाले सम्पादकीय मन्तव्य राख्दै छन्दकाव्यको युगीन महत्त्वमाथि प्रकाश पारे। उनले भने- ‘विश्वकै आदिकवि वाल्मीकिबाट आरम्भ भएको लौकिक छन्दकाव्यको परम्परासँग समाजलाई परिचित गराउन एवम् विद्यार्थीहरूको आधुनिक पुस्तालाई छन्दसाहित्यमा अभ्यस्त गराउनका निम्ति छन्दलहरीजस्तो कृतिको प्रकाशन अति आवश्यक थियो, जुन आवश्यकताको पूर्ति पाणिनि विद्यालयले गरिदिएको छ। छन्दकाव्यप्रति समाजको अभिमुखीकरणका निम्ति विद्यालय-परिवारबाट यो अत्यन्तै सराहनीय कार्य भएको छ।’

 

सम्पादक तिमिल्सिनाको स्रग्विणी छन्दमा रचित ‘नीयतां गीयतां सर्वदा संस्कृतम्’ शीर्षकको संस्कृतकविता कक्षा ५ का विद्यार्थीहरू ईशु आचार्य, सान्भी ओली, सुसान लामा, एरिज फुयाँल, अनुष्ठा प्रसाईं र हार्दिक पौडेलले लयबद्ध रूपमा साङ्गीतिक वाचन गरेका थिए।

युवा कवि गौतम मनीषले मन्तव्यका क्रममा कृतिले मानवमनमा सत्कर्मको दीप बाल्ने कुरा व्यक्त गर्दै भने- ‘आज लोकार्पित कृति ‘पाणिनि छन्दलहरी’ले यसका पाठकवर्गलाई राष्ट्रप्रेम, अध्यात्म, संस्कृति, प्रकृतिप्रेम तथा सत्कर्मतर्फ घच्घच्याइरहने छ।’ उनले बालबालिकाको प्रेरणाका निम्ति ‘म’ शीर्षकको कविताका ओजस्वी हरफहरू सुनाए-

म ध्यानी बने ध्यानमा कल्प बित्छ
म राजा बने राज्यले विश्व जित्छ।
म सोह्रै कलादेखि भिन्नै छु जान
म व्याख्या बनेमा ‘अठारै पुराण’ ! इत्यादि।

कवि मनीषको भुजङ्गप्रयात छन्दमा रचित ‘सम्भावना’ शीर्षकको कविता कक्षा ४ का विद्यार्थीहरू प्रांशु खड्का, अर्चिता काफ्ले, युक्तिप्रभा रेग्मी र युभेन बुढाथोकीले सुन्दर भाकामा प्रस्तुत गरेका थिए।

प्राञ्जल कवयित्री सविता बरालले शुभकामना-मन्तव्य व्यक्त गर्दै यो कृति विद्यालयको चौघेराभन्दा माथि उठेर साहित्य-जगत्‌मा गुञ्जने विश्वास व्यक्त गरिन्। उनले भनिन्- ‘यो यस्तो काव्य-सङ्गालो तयार भएको छ, जसको चर्चा केवल विद्यालयहरूमा मात्र नभएर समग्र छन्दकाव्यप्रेमी समाजमा हुनेछ।’ उनले द्रुतविलम्बित छन्दमा रचित ‘देश उचाल्नु छ’ शीर्षकको कविताबाट देशभक्तिको भाव छचल्किने हरफहरू प्रस्तुत गरिन्-

उठ तिमी नव भानु स्वयम् बनी
अमर सृष्टि अझै गर लेखनी।
सबल काव्य निनाद उराल्नु छ
कलमले अझ देश उचाल्नु छ॥

कवयित्री बरालको पञ्चचामर छन्दको ‘बनूँ म राष्ट्रसेवक’ शीर्षकको कविता कक्षा ४ का विद्यार्थीहरू आर्शिया शर्मा, आयान दाहाल, विभान दाहाल र श्रीजू भुर्तेलले वाचन गरेका थिए।

साहित्यिक अनुष्ठानको यो लहरमा विद्यार्थीहरूले अग्रज कविहरूका प्रसिद्ध रचनाहरूलाई समेत मञ्चमा जीवन्त बनाएका थिए। वरिष्ठ कवि बलराम दाहालको उपजाति छन्दमा रचित ‘उचाइ’ शीर्षकको कविता कक्षा ८ र ९ का छात्राहरू आसिस्मा भट्टराई, शाम्भवी कँडेल, प्रीति महतो, जोया श्रेष्ठ, प्रिन्सा बस्नेत र रोशिका भण्डारीले प्रस्तुत गरे भने कविशिरोमणि लेखनाथ पौड्यालको अमर रचना शार्दूलविक्रीडित छन्दको ‘काल-महिमा’ कविता कक्षा १० का छात्रहरू प्रनिल खड्का र भोलानाथ घिमिरेले ओजस्वी स्वरमा वाचन गरेका थिए।

त्यसैगरी प्रमुख अतिथि प्रा. भवानीप्रसाद खतिवडाको उपजाति छन्दको ‘शिवपञ्चाक्षरस्तोत्रम्’को नेपाली छायानुवाद कक्षा ६ का विद्यार्थीहरू सक्षम सापकोटा, समृद्धि खकुरेल, सेम्साङ तामाङ र साम्राज्ञी जमकट्टेलले प्रस्तुत गरेका थिए।

आशीर्वचनका क्रममा प्रमुख अतिथि प्रा. भवानीप्रसाद खतिवडाले पाणिनि विद्यालयको साहित्यिक समर्पणको मुक्तकण्ठले प्रशंसा गर्दै भने- ‘आज लोकार्पित यस कृतिले राष्ट्रमा मात्र नभएर अन्तरराष्ट्रमा समेत स्थान पाउनेछ। महान् वैयाकरण महर्षि पाणिनिको नाममा सञ्चालित यस विद्यालयले आफ्नो नाम सार्थक गर्ने कार्य भनेकै स्वसंस्कृति, स्वसाहित्य एवं स्वसभ्यताको जगेर्ना हो, जुन कार्यमा आज लोकार्पित ‘पाणिनि छन्दलहरी’ले एउटा इँटा थप्ने कार्य गरेको छ।’

उनले महाभारतको मदालसा-उपाख्यानको पावन सन्दर्भ जोड्दै बालबालिकाहरूलाई सधैँ सज्जनको सङ्गत गर्ने र सत्-चिन्तनको मार्गमा हिँड्ने उपदेशसमेत दिए।

समारोहको अध्यक्षीय मन्तव्य व्यक्त गर्दै प्राचार्य प्रकाशचन्द्र खड्काले आफ्ना छात्र-छात्राहरूलाई काव्यसाधनामा निपुण बनाउने विद्यालयको भावी सङ्कल्प प्रकट गरे।

उनले भने- ‘जब हामी आफ्नै विद्यालयका छात्र-छात्राहरूका छन्दकविताको सङ्गालो प्रकाशित गरेर यसैगरी भव्य लोकार्पण गर्न सक्षम हुनेछौँ, त्यस दिन हामीले अहिले गरेको छन्दलहरीको प्रकाशन पूर्ण सार्थक हुनेछ। विगत आठ वर्षदेखि भानु-जयन्तीको पूर्वसन्ध्यामा हामीले आयोजना गर्दै आएको ‘पाणिनि छन्दसाँझ’ पनि विद्यार्थी एवं वर्तमान समाजमा छन्दसाहित्यविषयक जागरण ल्याउनकै लागि हो।’

कार्यक्रमको अन्तिम चरणमा सभाध्यक्ष एवं विद्यालय-परिवारका तर्फबाट चारै जना विशिष्ट अतिथिहरूलाई कृतज्ञताको प्रतीकस्वरूप ‘स्नेह-प्रतीकम्’ (मायाको चिनो) अर्पण गरिएको थियो।

विद्यालयको देवनागरी विभागकी सदस्य एवम् लोकार्पित कृतिकी सङ्कलयित्री कवयित्री गोमा रेग्मीको कुशल, प्रवाहमय शैलीयुक्त सञ्चालनमा सम्पन्न भएको उक्त ऐतिहासिक समारोहको औपचारिक समापन सभाध्यक्ष तथा विद्यालयका प्राचार्य प्रकाशचन्द्र खड्काको धन्यवादज्ञापनसँगै भएको थियो।

प्रकाशित: २५ भदौ २०८३ ९:०२ | Thursday, September 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast