काठमाडौँ- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा थापाले विपद्पछि अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा समन्वय गर्न सरकारले परराष्ट्र मन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठनका साथै पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने बताए।
उनले प्रधानमन्त्रीले आफ्नो एकाङ्गी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्ने भन्दै संसद्लाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनुपर्ने माग गरे। उनले विद्यमान संकटको सामना गर्न राजनीतिक दल, नागरिक समाज तथा विज्ञहरू सम्मिलित संयन्त्र निर्माणको पहल तत्काल गर्न समेत सुझाव दिए।
सरकारलाई आवश्यक सचेत गराउन, निगरानी गर्न र सहयोग पुर्याउन सभामुखको अग्रसरतामा विशेष संसदीय समिति गठन गर्न उनले माग गरे।
उनले जलवायु परिवर्तनजन्य संकटको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता र रणनीति तय गर्न सरकारले ‘सगरमाथा संवाद’को दोस्रो संस्करण तत्काल अघि बढाउनुपर्ने धारणा राखे।


