भोटेकोशी बाढीपछिको जोखिम र सञ्चारमाध्यमको भूमिकाबारे छलफल, कसले के भने?

हिमाल प्रेस २ असोज २०८३ ७:४९ | Friday, September 18, 2026
भोटेकोशी बाढीपछिको जोखिम र सञ्चारमाध्यमको भूमिकाबारे छलफल, कसले के भने?

काठमाडौँ- भोटेकोशी बाढीपछिको जोखिम न्यूनीकरणका लागि सञ्चारमाध्यम, सुरक्षा निकाय र सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल र सार्वजनिक सेवा प्रसारण नेपाल (पीएसबी) को सहकार्यमा एसिया प्रशान्त प्रसारण विकास संस्थान (एआईबीडी) ले आयोजना गरेको ‘नेपालको विपद् प्रतिकार्य: सुरक्षा, मानसिक स्वास्थ्य र अफवाहविरुद्धको अभियान’ विषयक अनलाइन छलफलमा सहभागी वक्ताहरूले बाढीपछिका चुनौती, मानसिक स्वास्थ्य, सही सूचना प्रवाह र पुनर्स्थापनाका विषयमा धारणा राखेका हुन्।

सामुदायिक सूचना नेटवर्क (सीआईएन) का सम्पादक लिलप्रकाश चन्दले भदौ १० मा आएको भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटमा चार दिन स्थलगत रूपमा बिताएको अनुभव सुनाउँदै सुरुदेखि नै पूर्वसूचना, उद्धार र राहतसम्बन्धी जानकारी नागरिकसम्म पुर्‍याउन सीआईएनले निरन्तर सामग्री उत्पादन र प्रसारण गरेको बताए।

उनले बाढी आएको करिब दुई सातापछि पनि होल्डिङ सेन्टरमा बसेका प्रभावितहरूले खानेपानी, सुरक्षित आवास र आधारभूत सुविधा नपाएको उल्लेख गर्दै झाडापखाला, हैजा लगायत सरुवा रोगको जोखिम बढेको बताए। प्रभावित र पत्रकार दुवैलाई मनोसामाजिक परामर्श आवश्यक रहेको उनको भनाइ थियो।

चन्दले बाढी प्रभावित क्षेत्रबाट सामग्री संकलन गर्दा पर्याप्त निगरानी नहुँदा सामाजिक सञ्जालमा अफवाह र भ्रामक सामग्री पनि फैलिएको बताए।

नेपाल टेलिभिजनका एडिटिङ चिफ निराजन खनालले बाढीपछिको रिपोर्टिङका लागि नेपाली सेना र सम्बन्धित निकायसँग समन्वय गरी विकट भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच दोस्रो दिनदेखि नै स्थलगत रिपोर्टिङ सुरु गरिएको बताए।

अकोराब नेपालका अध्यक्ष अर्जुन गिरीले राहत वितरण र पुनर्स्थापनामा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै रसुवा र नुवाकोटका रेडियोहरूलाई जेनेरेटरलगायत उपकरण उपलब्ध गराइएको र थप सहयोगका लागि समन्वय भइरहेको बताए।

सार्वजनिक सेवा प्रसारण नेपालकी कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यातले विपद्का बेला नागरिकलाई सुसूचित गराउने सामग्रीको उत्पादन र प्रसारणलाई प्राथमिकता दिइएको बताइन्।

नेपाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल राजाराम बस्नेतले भोटेकोशी बाढी प्रभावितको उद्धारमा नेपाली सेनाले नेतृत्वदायी भूमिका खेलेको र विभिन्न तहका जनशक्ति तत्काल परिचालन गरिएको बताए।

भारतको राष्ट्रिय मानसिक स्वास्थ्य तथा स्नायु विज्ञान संस्थानका डा.कासी सेकरले बाढीपछिको मानसिक स्वास्थ्य समस्या उमेर समूहअनुसार फरक फरक रूपमा देखिन सक्ने भएकाले स्थानीय सामुदायिक रेडियो र अन्य सञ्चारमाध्यमले सचेतना फैलाउन प्रभावकारी भूमिका खेल्न सक्ने बताए।

उनले गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि मनोपरामर्श सेवामा विशेष ध्यान दिन सरकारलाई सुझाव दिए।

विपद्पछिको मानसिक स्वास्थ्यसम्बन्धी आफूले लेखेका आधा दर्जनभन्दा बढी पुस्तक अकोराबमार्फत नेपाल पठाउने र ती नेपाली तथा अन्य मातृभाषामा अनुवाद गर्न अनुमति दिने घोषणा पनि गरे।

समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन समाज भारतका प्राध्यापक डा.सूर्यप्रकाश गुप्ताले आर्थिक, सामाजिक र मानसिक पुनर्स्थापनाका लागि सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिए।

मलेसियन इन्टरनेसनल सर्च एन्ड रेस्क्यु (एमआईएसएआर) का अध्यक्ष क्याप्टेन के. बालाले राहत तथा उद्धारका लागि सरकार र सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।

कार्यक्रमको सहजीकरण गर्दै एआईबीडीकी महासचिव फिलोमेना प्रागासमले बाढीपछिको अवस्थामा सही सूचना प्रवाह र मिथ्या सूचना नियन्त्रणमा सामुदायिक रेडियोको भूमिका अझ महत्वपूर्ण हुने बताइन्।

उनले पत्रकार तथा सञ्चारमाध्यमले जोखिमका बीच निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै नेपाली सेनालगायत सुरक्षा निकायको उद्धार प्रयास सराहनीय रहेको उल्लेख गरिन्।

वेबिनारमा नेपालसहित विभिन्न देशबाट करिब १०० जनाको सहभागिता रहेको थियो।

प्रकाशित: २ असोज २०८३ ७:४९ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast