नेपाली कांग्रेसका सभापति गगनकुमार थापा
काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत असोज ३ र ४ गतेदेखि सुरु हुन गइरहेको वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै निर्वाचन समितिले वडा अधिवेशनलगायतका अन्य अधिवेशनको तयारी पूरा भएको जनाएको हो।
महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्र सभापति र पालिका सभापतिसहित ६ हजार ५२८ प्रतिनिधि चयनको अनुमान गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।
यसबाहेक विदेशीस्थित जनसम्पर्क समिति÷भातृ संस्था/शुभेच्छुक संस्थालगायतको संख्या जोड्दा करिब ७ हजार महाधिवेशन प्रतिनिधि रहन सक्ने उनले बताए। उनले रसुवा, नुवाकोट र धादिङलगायतका केही बाहेक ८ लाख ७० हजार क्रियाशील सदस्य रहेको जानकारी दिए।
पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले केन्द्रीय महाधिवेशन सम्पन्न गर्न आवश्यक महाधिवेशन प्रतिनिधि वडा, क्षेत्र र प्रदेशको निर्वाचन प्रक्रियाबाट तयार हुने भएकाले सोही आधारमा निर्वाचन अघि बढाइएको बताए।
उनले बाढी प्रभावित धादिङमा जम्मा दुईवटा गाउँपालिकामा मात्र केही अप्ठ्यारो रहेको र अन्य स्थानमा खासै असर नरहेको तथा नुवाकोटमा मुख्यतया २ नम्बर वडाबाहेक अन्य वडाहरूमा अधिवेशन गर्न कुनै बाधा नदेखिएको बताए।


