‘महाधिवेशन स्थगन गरौँ, एकताका लागि पहल गरौँ’

हिमाल प्रेस २६ भदौ २०८३ १५:२५ | Friday, September 11, 2026
‘महाधिवेशन स्थगन गरौँ, एकताका लागि पहल गरौँ’

काठमाडौँ- नेपाली कांग्रेसका दुई पक्षले छुट्टाछुट्टै १५ औँ महाधिवेशन गर्नतर्फ अगाडि बढिरहेका बेला पार्टीका केही नेताहरूले एकताका लागि आह्वान गरेका छन्।

राजनीतिक अवस्था तरल र चुनौतीपूर्ण बन्दै गएको भन्दै उनीहरूले पार्टीका दुवै समूहलाई एकता गरेर अगाडि बढ्न आह्वान गरेका हुन्।

महालक्ष्मी उपाध्याय (डिना), सुरेन्द्र पाण्डे, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैसिंह महरलगायतका नेताहरूले शुक्रबार संयुक्त वक्तव्य निकालेर पार्टीलाई एक ढिक्का बनाउन आह्वान गरेका हुन्।

उनीहरूले दुवै पक्षलाई महाधिवेशनको मिति स्थगन गरी पार्टी एकताका लागि वार्ता प्रारम्भ गर्न आग्रह गरेका छन्।

‘कांग्रेसको बृहत्त एकताका लागि वर्तमान पार्टी सभापति गगन थापाको भूमिका विशेष महत्वपूर्ण रहनेछ,’ संयुक्त वक्तव्यमा भनिएको छ,‘पार्टी सभापतिका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै दुवै पक्षबाट जारी गरिएका पन्ध्रौँ महाधिवेशनको कार्यतालिका स्थगन गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताको लागि निर्णायक वार्ता प्रारम्भ गर्न हामी विशेष आग्रह गर्दछौँ।’

१५ औँ महाधिवेशनमा कांग्रेसका सबै सदस्यहरू सहभागी हुनसक्ने वातावरण निर्माण गर्दै सवल नेतृत्व चयन र स्पष्ट दिशा तय गर्न उनीहरू एक भएर बढ्नुपर्नेमा जोड दिएका छन्।

‘पन्ध्रौँ महाधिवेशनको संघारमा जेजसरी विशेष महाधिवेशन भयो, त्यसबाट हामीले विभिन्न तीतामिठा अनुभवहरू प्राप्त गरेका छौँ। ती अनुभवबाट पाठ सिक्दै अब वगतका विवाद र मतभेदलाई बोकेर बस्ने होइन, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने संकल्प गर्नुपर्छ,’ वक्तव्यमा भनिएको छ।

कांग्रेस आन्तरिक कलहमा रुमलिँदा त्यसको असर समग्र राष्ट्रिय राजनीतिमा परिरहेको बताउँदै नेताहरूले विवादलाई थप चर्काउने वा पार्टीलाई अझ विभिाजित बनाउनेतर्फ अघि बढ्नु राष्ट्र र लोकतन्त्रको हितमा नहुने उल्लेख गरेका छन्।

उनीहरूले व्यक्तिगत स्वार्थ र अहंकार त्यागेर पार्टीको बृहत् हितलाई केन्द्रमा राखी सम्पूर्ण एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्त वर्तमान नेतृत्वलाई दबाब दिएका छन्। संयुक्त वक्तव्य निकालेका कांग्रेस नेताहरूले पार्टी सभापति थापालाई भेटेरसमेत पार्टी एकताका लागि पहल गर्न आग्रह गरेका छन्।

 

प्रकाशित: २६ भदौ २०८३ १५:२५ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast