काठमाडौँ- भदौ १० गतेको भोटेकोशी बाढीका क्रममा विभिन्न स्थानबाट संकलन गरिएका पहिचान नखुलेका ८५ शव काठमाडौंँमा जमिनमा पुरेर व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिकाको पहिलो संशोधन, २०८३ बमोजिम डीएनए नमुना सुरक्षित राख्दै शवको ‘व्यवस्थापन संरक्षण’ गरिएको हो।
ती शवहरू यसअघि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएका थिए। शवलाई गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकास्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको वन क्षेत्रमा पुरिएको प्रहरीले जनाएको छ। शव पुरिए पनि मृतकको पहिचान खुल्ने सम्भावना कायम राखिएको छ। डीएनए परीक्षणपछि आफन्तले दाबी गरेमा आवश्यक प्रक्रिया पूरा गरी शव उपलब्ध गराइने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
शवसम्बन्धी जानकारी वा आफन्तको दाबीका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार शवको व्यवस्थापन अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को प्रोटोकलअनुसार गरिएको हो।
भोटेकोशी बाढीपछि विभिन्न जिल्लाबाट संकलन गरिएका पहिचान नखुलेका शवहरू काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो। पहिचान खुल्न नसकेका शवको व्यवस्थापनसँगै तिनको डीएनए नमुना सुरक्षित राखिएको प्रहरीले जनाएको छ।


