काठमाडौँ- प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज (सोमबार) बस्दैछ । संसद् सचिवालयका अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछिन् ।
बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ। बैठकमा मन्त्री चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
संसद्का दुवै सदनको बैठकका साथै आजै विभिन्न तीन वटा संसदीय समितिहरूको बैठक पनि बस्दै छ । जसअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्ने तय भएको छ ।


