पोखरा-१६ स्थित सिँचाइ बाँधको वन क्षेत्रमा मंगलबार शव व्यवस्थापन गरिँदै। तस्बिर : हिमालप्रेस
पोखरा- भोटेकोशी बाढीमा परी पोखरा ल्याइएका १०२ शवमध्ये करिब ७५ प्रतिशतभन्दा बढीको पहिचान असम्भव भएको छ। पोखरा-१६ स्थित सिँचाइ बाँधको वन क्षेत्रमा प्रहरी सहयोगमा मंगलबार दिउँसो ७६ शव गाडेर व्यवस्थापन गरिएको हो।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार पोखरा ल्याइएका १०२ शवमध्ये १९ को पहिचान भई आफन्तले बुझेर गइसकेका छन्। ६ दिनसम्म पहिचान हुन नसकेका ७६ शव भने गाडेर व्यवस्थापन गरिएको हो। बाँकी ७ शव भने अस्पतालको शवगृहमै राखिएको छ। ती शव आफन्त तथा परिवार आएर पहिचान हुन सक्ने आसमा दुईचार दिनसम्म शवगृहमै राखिने सहायक प्रजिअ बरालले बताए। कोही नआए ती शव पनि गाडेरै व्यवस्थापन गरिने उनको भनाइ छ।
भदौ १० मा रसुवा भोटेकोशी बाढीका कारण ज्यान गुमाएकामध्ये नदीले बगाएर ल्याएका शव बिहीबारदेखि पोखरामा समेत पोस्टमार्टमका लागि ल्याइएको थियो। गोरखा, तनहुँ, धादिङ र नवलपुरमा नदीले बगाएर ल्याएकामध्ये एक सय दुई शव ल्याइएको हो। नौ शव पोखरा-११, फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल र बाँकी शव पोखरा-१०, रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको थियो। नवलपुरबाट ४०, धादिङबाट २७, तनहुँबाट २४ र गोरखाबाट ११ शव संकलन गरिएको थियो।
सबै शवहरुको सोमबारसम्म पोस्टमार्टम पूरा गरिएको थियो। पोखरामा पोस्टमार्टममा फरेन्सिक विशेषज्ञ पनि सँगै खटिएका थिए। डीएनए रिपोर्टचाहिँ शव पहिचान भएका वा नभएका सबैको लिइएको हो। डीएनए नमुनाको रिपोर्ट आउन कति समय लाग्छ भन्ने यकिन छैन।
६ दिनमा पहिचान भएका १९ शव परिवारजनका सदस्य तथा आफन्तले बुझेर लगिसकेका सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले भने, ‘शवमा ट्याग राखिएको छ। भोलिका दिनमा डीएनए म्याचिङ भयो र कोही परिवारजनका सदस्यले म लैजान्छु भनेमा उत्खनन् गरेर लैजान पनि सकिन्छ।’ शव कुहिएर महामारी फैलिन सक्ने भयमा कास्कीमा पनि शव माटोमुनि गाडेर व्यवस्थापन गरिएको हो।
सनाखत भई परिवारका सदस्य तथा आफन्तले बुझेका शवमा भक्तपुर नगरपालिका-९ का ३६ वर्षीय सत्यसुन्दर प्रजापति, नवलपुरका ३७ वर्षीय यादव भण्डारी, इलामको सुन्दकपुर-३ का ३८ वर्षीय दिवानन्द सुवेदी, हेटौँडा-५ का ३६ वर्षीय उद्धव खड्का, अर्घाखाँचीको पाणिनि-७ निवासी ४५ वर्षीय नारायणबहादुर थापा, धादिङ खनियाबास-५ निवासी ४२ वर्षीय सन्जोग घर्तीमगर, नुवाकोट विदुर-७ निवासी ४५ वर्षीया शारदा ढकाल छन्।
सनाखत हुने अन्यमा पाल्पाको तानसेन-१० निवासी ३४ वर्षीय दीपेन्द्र बिष्ट, गोरखा पालुङटार-६ निवासी ५५ वर्षीय यमबहादुर थापा, नुवाकोट विदुर-१० निवासी ५ वर्षीय प्रतिन्स तामाङ, रसुवाको बेत्रावती बजार बस्ने तीन वर्षीय प्रभास भनिने पुरुषोत्तम रैला, काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल-६ निवासी ४६ वर्षीय डिकबहादुर कायस्थ, सप्तरीको खडक-५ निवासी २८ वर्षीय सन्तोष चौधरी र गोरखाको पालुङटार-५, चारकुने निवासी ४० वर्षीय केदार पण्डितसमेत छन्।
अघिकांश परिवारका सदस्य एवं आफन्तले शवको पहिचान विभिन्न संकेतबाट पहिचान गरेका हुन्। धेरैजसोले कपडा, गहना र ट्याटु तथा अन्य अंगमा भएका संकेतबाट शवको पहिचान गरेका हुन्।



