४० किलोमिटर सडक ध्वस्त, ३१ पुल क्षतिग्रस्त

हिमाल प्रेस १६ भदौ २०८३ १९:१७ | Tuesday, September 1, 2026
४० किलोमिटर सडक ध्वस्त, ३१ पुल क्षतिग्रस्त

काठमाडौँ- सडक विभागले रसुवा बाढीपछि प्रभावित राजमार्गहरू, वैकल्पिक मार्ग तथा पुल व्यवस्थापनमा गम्भीर भएर काम गरिरहेको जनाएको छ।

विभागले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरेर बाढीपछि अवरुद्ध भएका सडकको मर्मत, वैकल्पिक मार्ग तथा पुल व्यवस्थापनमा गम्भीर भएर काम गरिरहेको जनाएको हो।

विभागका महानिर्देशक विजय जैसीले गल्छी, बैरेनी, जरिखेत, पोखरे, बाङ्गे र गलौंदी खण्डमा करिब २–३ मिटर बाक्लो लेदो जम्मा भएको र नयाँ प्रविधिको चुनौतीका बाबजुद सफलतापूर्वक सडक खुलाइएको जानकारी दिए।

सडक मर्मतका लागि सडक बोर्डको आपतकालीन बैठकबाट आकस्मिक कामका लागि ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको उनले बताए।

रसुवा बाढीका कारण हालसम्म सडक विभाग मातहतका ३१ वटा पुलहरू बगेको वा क्षतिग्रस्त भएको विभागले जनाएको छ।

महानिर्देशक जैसीकाअनुसार ८२ किलोमिटर लामो गल्छी–बेत्रावती–रसुवागढी सडकखण्डको विदुरदेखि रसुवागढीसम्मको ५६ किलोमिटरमध्ये ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ।

यस्तै, पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीरमा सडकको ठूलो हिस्सा नदीले कटान गरेपछि यातायात सम्पर्क विच्छेद भएको छ।

देवीघाट, त्रिशूली बजार र बेत्रावती गरी ३ स्थानमा तत्काल बेलीब्रिज राख्न डिजाइन सम्पन्न गरी काम थालिएको र बाँकी करिब २० स्थानमा सर्वेक्षण भइरहेको महानिर्देशक जैसीले बताए।

धादिङबेँसीको पहुँचका लागि मासटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–केउरिनीघाट हुँदै वैकल्पिक मार्ग खोलेर धादिङबेँसीसँग सडक सम्पर्क पुनः कायम गरिएको विभागले जनाएको छ।

त्रिशूली बजार पहुँचका लागि गल्छी–कलेरीटार–कौशीखोला–पिपलटार–दर्शनटार–छत्रेखोला–गौरीबेँसी हुँदै वैकल्पिक सडक सञ्चालनमा ल्याइएको र मासटार–धादिङबेँसी–गोरखा बजार हुँदै पोखरा जोड्ने वैकल्पिक मार्गको सम्भावना खुला गरिएको विभागका महानिर्देशक जैसीले बताए।

त्यस्तै कृष्णभीरमा भित्तातर्फ काटेर सडक खोल्ने विषयमा जियोटेक्निकल विज्ञहरूसँग छलफल भइरहेको र फिस्लिङ र बेनिघाट जोड्न करिब १.५ कि.मी. नयाँ ट्र्याक खोल्ने काम अघि बढाइएको विभागको भनाइ छ।

उपत्यकामा पेट्रोलियम पदार्थ र ग्यास ढुवानीका लागि त्रिभुवन राजपथ र कान्ति लोकपथ दुवैलाई उच्च निगरानीमा राखेर ट्यांकर तथा बुलेटहरूको आवागमन सहज बनाइएको समेत विभागले जानकारी दिएको छ।

प्रकाशित: १६ भदौ २०८३ १९:१७ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast