डोनाल्ड ट्रम्प। फाइल तस्बिर
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न दिन नहुने बताएका छन्।
उनले वाशिङ्टन र तेहरानबीच बढ्दो तनावका बीच हर्मुज जलमार्गको नाम ‘अमेरिकी क्षेत्र’ भनेर वर्णन गरेको अल जजिराले जनाएको छ।
साउथ क्यारोलिनाको मर्टल बिचमा आयोजित एक सभामा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘हामी उनीहरू (इरान) लाई आणविक हतियार राख्न दिन सक्दैनौँ। त्यसो भएमा तपाईंहरूले धेरै खराब परिणामहरू देख्नुपर्नेछ।’
उनले भने, ‘हामी गएर उनीहरूलाई रोकेका छौँ। उनीहरूसँग केही गरी आणविक हतियार हुने छैन। इरान सम्झौता गर्न चाहन्छ तर वाशिङ्टनले त्यो सम्झौता स्वीकार नगर्न पनि सक्नेछ।’
उनले रणनीतिक जलमार्गमाथि अमेरिकी नियन्त्रण रहेको दाबी गरे।
अरबी समाचार संस्था अल जजिराले राष्ट्रपति ट्रम्पलाई उद्धृत गरी लेखेको छ, ‘उनीहरू कति धेरै सम्झौता गर्न चाहन्छन् हामीलाई थाहा छ। हामी पनि सम्झौता चाहन्छौँ तर इरानका पक्षमा मात्र सर्तहरू स्विकार गर्नेछैनौँँ। म हर्मुज जलमार्गलाई अहिले अमेरिकी क्षेत्रको रूपमा हेर्छु, यो अमेरिकी क्षेत्र हो।’
मर्टलबिच जानुअघि संयुक्त आधार शिविर एन्ड्रयुजमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘अमेरिकाको हर्मुज जलमार्गमाथि ‘पूर्ण नियन्त्रण’ छ।’
उनले रणनीतिक जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने धारणालाई व्याख्या गरेका थिए।
उनले भने, ‘वाशिङ्टनको इरानविरुद्धको नाकाबन्दीका बीच हर्मुज जलमार्गसँग जोडिएको क्षेत्रमाथि हाम्रो नियन्त्रण छ। हामी के हुन्छ भनेर हेरिरहेका छौँ। तपाईंहरूलाई थाहा छ, हामीसँग सीमामाथि पूर्ण नियन्त्रण छ। तपाईं नाकाबन्दीबारे जानकार हुनुहुन्छ र यो पनि तपाईंलाई जानकारी छ कि हर्मुज जलमार्गसँग सम्बन्धित सम्पूर्ण क्षेत्र हाम्रो पूर्ण नियन्त्रणमा छ।’
यी टिप्पणीहरू रणनीतिक जलमार्गमाथि वाशिङ्टन र तेहरानबीच जारी तनावका बीच आएका हुन्, जसबाट विश्वव्यापी ऊर्जा आपूर्तिहरूको ठूलो हिस्सा बाहिरिन्छ।
इरानले ट्रम्पको दाबी अस्वीकार गरेको छ। इरानी उपपरराष्ट्रमन्त्री काजेम गरीबाबादीले हर्मुज जलमार्गमाथि अमेरिकी राष्ट्रपतिको दाबी परिस्थितिले वा इरानले ‘सच्याइदिने’ बताए।
‘जसरी ट्रम्पले सदाबहार पर्सियन खाडीको नाम सही लेख्नुभएको छ, त्यसैगरी चाँडै हर्मुज जलमार्गबारे उहाँको भ्रम सच्याइनेछ वा हामी यसमा भ्रमित मानिसको भ्रम सच्याउनेछौँ,” गरीबाबादीले एक्समा पोस्ट गरेका छन्।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रजाईले पनि ट्रम्पका टिप्पणीहरूको आलोचना गर्दै भने, ‘हर्मुज जलमार्ग पुनः खोल्न अमेरिकाको असमर्थता र यसलाई आफ्नो स्वामित्वको दाबी गर्ने बीचको खाडल वाशिङ्टन र जलमार्गबीचको सात हजार माइल दूरीभन्दा बढी छ।’


