सामुदायिक वनबाट गाउँ पसेर चौपाया मार्ने बाघ नियन्त्रणमा

हिमाल प्रेस ३ भदौ २०८३ १२:१९ | Wednesday, August 19, 2026
8
SHARES
सामुदायिक वनबाट गाउँ पसेर चौपाया मार्ने बाघ नियन्त्रणमा

काठमाडौँ- बर्दियामा गाउँमा पसेर चौपाया मार्दै आएको समस्याग्रस्त पाटेबाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट गाउँमा पसेर चौपाया मार्ने बाघलाई नियन्त्रणमा लिइएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक तथा सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले क्यामेरा ट्रयापिङमार्फत बाघको गतिविधि पहिचान गरी डार्ट गरेर नियन्त्रणमा लिएको हो। पछिल्लो एक महिनादेखि बाघ गाउँबस्तीमा प्रवेश गरी गोठमै पुगेर गाई, गोरु र बाख्रा खान थालेपछि स्थानीयवासी त्रसित बनेका थिए।

बाघलाई नियन्त्रणमा लिन निकुञ्जको टोलीले १९ दिनसम्म लगातार खोजतलास गरेको थियो। निकुञ्जका प्रमुख अशोकरामका अनुसार चौपाया खान पल्किएको बाघले मानिसमाथि समेत आक्रमण गर्न सक्ने जोखिम देखिएपछि नियन्त्रणमा लिन विशेष निगरानी बढाइएको थियो।

क्यामेरा ट्रयापिङबाट बाघको आवतजावत पहिचान भएपछि उपयुक्त स्थानमा पुगेर डार्ट गरी नियन्त्रणमा लिइएको हो। वन्यजन्तु प्राविधिकहरूका अनुसार प्राकृतिक आहारको अभाव वा अन्य कारणले बाघ नियमित रूपमा मानव बस्ती नजिक आउन थालेपछि चौपाया मार्ने र मानिसमाथि समेत आक्रमणको जोखिम बढ्न सक्ने भएकाले यस्ता बाघलाई ‘समस्याग्रस्त’ मानिने गरिन्छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्फाहाम्फेका अनुसार गेरुवा क्षेत्रबाट मात्रै पछिल्ला दुई वर्षमा तीन वटा समस्याग्रस्त बाघ नियन्त्रणमा लिइसकिएको छ।

उनका अनुसार गत वर्ष दुई र चालु वर्ष एक गरी पछिल्लो दुई वर्षमा तीन बाघ नियन्त्रणमा लिइएको हो। पछिल्लो आठ वर्षमा बर्दिया क्षेत्रमा नियन्त्रणमा लिइएका समस्याग्रस्त बाघको संख्या छ पुगेको छ। नियन्त्रणमा लिइएका बाघमध्ये तीन वटा निकुञ्जको रम्मापुर तथा दुई वटा ठाकुरद्वारास्थित खोरमा राखिएका छन्।

यसबीच बर्दियामा बाघको संख्या घट्दो क्रममा देखिएको छ। पछिल्लो गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ११२ वटा बाघ छन्। सन् २०२२ को गणनामा बर्दियामा १२५ वटा बाघ रहेकोमा पछिल्लो गणनामा संख्या घटेर ११२ मा पुगेको हो।

प्रकाशित: ३ भदौ २०८३ १२:१९ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast