मिनरल वाटरमा हुर्किएका मन्त्रीले गाउँको पानी पचाउन सकेनन् : कांग्रेस सांसद थापा

हिमाल प्रेस २ भदौ २०८३ ११:५४ | Tuesday, August 18, 2026
8
SHARES
मिनरल वाटरमा हुर्किएका मन्त्रीले गाउँको पानी पचाउन सकेनन् : कांग्रेस सांसद थापा नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सर्वसाधारणले सामान्य स्वास्थ्य सेवा र राहतसमेत नपाइरहेका बेला बिरामी भएका मन्त्रीलाई लाखौँ रुपैयाँ खर्च गरेर हेलिकोप्टरबाट काठमाडौं ल्याइएको भन्दै सरकारको आलोचना गरेकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले सुत्केरीले समयमै अस्पताल पुग्न नसक्ने अवस्था रहेको, जनताले सिटामोलसमेत नपाउने गरेको तर मन्त्रीका लागि राज्यले ठूलो रकम खर्च गरिरहेको बताइन्।

‘जनताले राहत पाउँदैनन्, सिटामोल पाउँदैनन्, सुत्केरीले समयमा अस्पताल पाउँदैनन्,’ उनले भनिन्, ‘काठमाडौँको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्रीले गाउँको पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर काठमाडौँ ल्याइन्छ।’

सुदूरपश्चिम भ्रमणका क्रममा भाइरल ज्वरो आएपछि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साललाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको घटनाप्रति लक्षित गर्दै थापाले मन्त्रीलाई काठमाडौं ल्याउन ३०–३५ लाख रुपैयाँ खर्च गर्ने सरकारले सर्वसाधारणलाई तीन लाख रुपैयाँ खर्च गरेर राहत दिन नसकेको आरोप लगाइन्।

उनले राज्यका लागि मन्त्री र सामान्य नागरिकको जीवनको मूल्य बराबर हुनुपर्ने बताइन्। ‘कान खोलेर सुन्नुस्, मन्त्रीको जीवन जति मूल्यवान् छ, कर्णालीका नागरिकको जीवन त्यति नै मूल्यवान् छ,’ उनले भनिन्।

मन्त्री लम्साललाई भाइरल ज्वरो आएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको विषयमा पछिल्लो समय आलोचना हुँदै आएको छ।

प्रकाशित: २ भदौ २०८३ ११:५४ | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast