संघीय संसद् सचिवालयको सभाहल सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उपस्थित अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायत अन्य सदस्य तथा राष्ट्र बैंकका प्रतिनिधि। तस्बिर : रासस
काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति एक जना महिलासहित सात सदस्यीय बनाउन सहमति जुटाएको छ।
मंगलबार समितिमा नेपाल राष्ट्र बै्रक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा ९ सदस्यीय सञ्चालक समिति प्रस्ताव गरिएकोमा पूर्ववत् रूपमा नै सात सदस्यीय समिति बनाउन सहमति जुटेको हो।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थामा विविधीकरण हुनु राम्रो भए पनि धेरै मानिस थप्दा व्यक्तित्वहरूको टकराव हुने जोखिम रहने बताए।
उनले विधेयकमा नेपाल सरकारले प्रत्यक्ष निर्देशन दिन सक्ने बुँदा हटाउँदा नेपाल राष्ट्र बैंक र सरकारबीच समन्वयका लागि अर्थ सचिवको उपस्थिति अनिवार्य रहनुपर्ने धारणा राखे।
योग्यता र कार्यअनुभवको दायरामा उच्च नैतिक चरित्र, स्नातकोत्तर तहको शिक्षा अनिवार्य हुनुपर्ने भन्दै उनले कार्यअनुभवको परिभाषा धेरै कडा नबनाई खुकुलो र व्यावहारिक बनाइनुपर्नेमा जोड दिए।
राष्ट्र बैंक विशिष्टीकृत संस्था भएकाले नातावाद वा राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने उनले बताए। मुलुकको मौद्रिक तथा वित्तीय प्रणालीलाई थप सुदृढ, विश्वसनीय र समयसापेक्ष बनाउन वाञ्छनीय भएकाले राष्ट्र बैंक ऐनलाई संशोधन गर्न उक्त विधेयक तर्जुमा गरिएको अर्थ मन्त्रालयले जनाएको छ।


