काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर, सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। न्यौपानेलाई कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन्।
रास्वपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका न्यौपानेले लोकतान्त्रिक पार्टी कांग्रेसमा आवद्ध हुन पाएको भन्दै खुसी व्यक्त गरे । मुलुक अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले देशलाई सही निकास दिन कांग्रेस सभापति थापा नेतृत्वसहित कांग्रेस अघि बढिरहेकाले आफू कांग्रेसमा आवद्ध भएको बताए। उनले कांग्रेसमा आबद्ध भएर आगामी दिनमा जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
सभापति थापाले उनलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । सो अवसरमा सभापति थापाले न्यौपानेलाई पार्टीका नेता–कार्यकर्तासँग सहकार्य गर्दै सक्रिय भएर काम गर्न आग्रह गरेका थिए। न्यौपानेको कांग्रेस प्रवेशले सर्लाहीमा कांग्रेसको संगठन विस्तारमा सघाउ पुग्ने थापाले बताए।


