बिहान ६ बजेसम्मको सडक अपडेट : बीपी राजमार्ग राति बन्द, पृथ्वी राजमार्ग लामो समयलाई ठप्प

हिमाल प्रेस १५ भदौ २०८३ ७:२९ | Monday, August 31, 2026
बिहान ६ बजेसम्मको सडक अपडेट : बीपी राजमार्ग राति बन्द, पृथ्वी राजमार्ग लामो समयलाई ठप्प

काठमाडौँ- अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्।  नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकको स्थितिबारे जानकारी दिएको हो।

कोशी प्रदेशको इलामस्थित मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ राजदुवालीमा झापादेखि ताप्लेजुङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ, जहाँ अर्को वैकल्पिक बाटो प्रयोग गर्न सकिनेछ। बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा सडक अवरुद्ध हुनुका साथै आवागमनमा कडाइ गरिएको छ। काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी सडक खण्डमा सम्भावित बाढीलाई ध्यानमा राख्दै साँझ १८:०० देखि बिहान ०४:०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने दिउँसोको समयमा परिस्थिति हेरेर सुचारु गरिने जनाइएको छ।

मकवानपुरस्थित कान्तिलोकपथको हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर सडक खण्डमा सम्भावित बाढी र पहिरोका कारण साँझ १८:०० देखि बिहान ०५:०० बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्ड बाढीका कारण लामो समयसम्मका लागि पूर्ण रूपमा अवरुद्ध भएको छ। नुवाकोटमा टोखा छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका-८ घट्टेखोलामा सम्भावित बाढी र पहिरोका कारण राति २२:०० देखि बिहान ०५:०० बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। साथै नुवाकोटका अन्य मुख्य राजमार्ग तथा पसाङ ल्हामु सडक खण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। धादिङस्थित पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्ण भिर र गजुरी गाउँपालिका-२ परेवा भिरमा पहिरो जाँदा सडक पूर्ण रूपमा ठप्प बनेको छ।

कर्णाली प्रदेशको मुगुस्थित छायाँनाथ रारा नगरपालिका-७ झ्यारीखोला र टोक्ला क्षेत्रमा पहिरो जाँदा नाग्मदेखि मुगु गमगढी आउने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

अवरुद्ध सडकहरू सुचारु गराउन प्रयास भइरहेको र यात्रुहरूलाई यात्रा गर्दा विशेष सजगता अपनाउन प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित: १५ भदौ २०८३ ७:२९ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast