उद्धार पहिलो प्राथमिकता, विद्यालय पुनर्निर्माणको जिम्मा सरकारले लिन्छ : शिक्षामन्त्री पोखरेल

हिमाल प्रेस ११ भदौ २०८३ १२:२६ | Thursday, August 27, 2026
उद्धार पहिलो प्राथमिकता, विद्यालय पुनर्निर्माणको जिम्मा सरकारले लिन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बुधबारको बाढीले पुर्‍याएको क्षति र त्यहाँको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता उद्धार र जीवनरक्षा रहेको बताएका छन्।

मन्त्री पोखरेलले प्रभावित पालिकाका प्रमुख तथा अध्यक्षहरूसँग प्रत्यक्ष टेलिफोन सम्पर्क गरेर अवस्थाबारे जानकारी लिएको जानकारी दिँदै स्थानीय तहलाई उद्धार कार्यमै पूर्णरूपमा केन्द्रित हुन आग्रह गरेका छन्।

उनले आवश्यक हेलिकोप्टर, राहत सामग्री र अन्य सहयोगका लागि सरकार प्रभावित स्थानीय तहको साथमा रहेको बताए।

बाढीका कारण विद्यालय, विद्यार्थी र शैक्षिक सामग्रीमा पुगेको क्षतिको व्यवस्थापन मन्त्रालयले गर्ने प्रतिबद्धता पनि मन्त्री पोखरेलले व्यक्त गरेका छन्।

उनले उद्धार कार्य सम्पन्न भएपछि विद्यालयमा भएको क्षतिको विवरण संकलन गरी विद्यार्थीका पुस्तक, कापी र आवश्यक शैक्षिक सामग्रीको व्यवस्था गरिने तथा क्षतिग्रस्त विद्यालय पुनर्निर्माण गरेर सकेसम्म छिटो बालबालिकालाई सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्था मिलाइने बताएका छन्।

सम्पर्क हुन नसकेका पालिकाका अध्यक्षहरूसँग पनि पुनः सम्पर्क गर्ने बताउँदै मन्त्री पोखरेलले कठिन परिस्थितिमा सरकार प्रभावित समुदायसँगै रहेको विश्वास दिलाएका छन्। ‘अहिले तपाईंहरू उद्धारमा लाग्नुहोस्, बाँकी कुरा हामी मिलेर सम्हालौँला,’ मन्त्री पोखरेलले भने।

प्रकाशित: ११ भदौ २०८३ १२:२६ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast