‘संज्ञान विमर्श’मा समाज जोड्ने साधक राजेन्द्र विमलप्रति शब्दश्रद्धा

हिमाल प्रेस २९ साउन २०८३ १७:२१ | Friday, August 14, 2026
‘संज्ञान विमर्श’मा समाज जोड्ने साधक राजेन्द्र विमलप्रति शब्दश्रद्धा

काठमाडौँ- राजेन्द्र विमललाई सम्झिँदा मैथिली र नेपाली भाषाका साहित्यकार सम्झनु अपूरो हुन्छ। उनी भाषा, भूगोल, जाति र समुदायका सीमाभन्दा माथि उठेर समाज जोड्ने साहित्यिक साधक थिए। उनका सिर्जनाको मूल स्वर सामाजिक सद्भाव, मानवीय सम्बन्ध र सहअस्तित्व थियो।

यही योगदान स्मरण गर्दै पाटन संयुक्त क्याम्पसको नेपाली विभागले ‘संज्ञान विमर्शको उन्नाइसौँ शृङ्खला’ अन्तर्गत शुक्रबार विमलको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।

विभागीय सदस्य डा. चतुर्भुजलाल दास केवरतले विमललाई कविता, कथा, गीत, गजल, नाटक, समालोचना र भाषाविज्ञानसम्म समानान्तर रूपमा कलम चलाउने बहुआयामिक स्रष्टाका रूपमा स्मरण गरे।

उनका लागि साहित्य सिर्जनाको माध्यम नभई समाजलाई बुझ्ने र मानिसलाई मानिससँग जोड्ने माध्यमसमेत रहेको केवरतको भनाइ थियो।

मिथिला र मैथिलीप्रति विमलको गहिरो प्रेम थियो। तर उनको साहित्यलाई जनकपुर वा मैथिली भाषाको सीमाभित्र राख्न नसकिने वक्ताहरूले बताए। विमलका रचनाले सिंगो नेपाली समाजको विविधता, विभाजन र सम्बन्धका प्रश्नलाई सम्बोधन गरेका छन्।

भिन्न भाषा, धर्म, जाति र भूगोललाई समाज विभाजन गर्ने आधार बनाउने प्रवृत्तिविरुद्ध विमलका सिर्जना उभिएका छन्। उनका कथा र कविताका पात्र तथा प्रसंगमा पहाड–मधेश, नेपाली–मैथिली र विभिन्न समुदायबीचको दूरीभन्दा मानवीय सम्बन्ध ठूलो देखिने समीक्षकहरूको भनाइ छ।

विभागीय सदस्य डा. धनप्रसाद सुवेदीले तराई-मधेशबाट नेपाली साहित्यमा प्रतिनिधित्व गर्ने स्रष्टामध्ये भवानी भिक्षुपछि विमललाई महत्त्वपूर्ण खम्बाका रूपमा मूल्यांकन गरे। उनका अनुसार विमलले आफ्नो लेखनबाट मधेशको आवाजलाई नेपाली साहित्यको मूल प्रवाहसँग जोड्ने काम गरेका थिए।

पाटन संयुक्त क्याम्पस गणित विभागका विभागीय प्रमुख प्रा.डा. रमेशचन्द्र तिमल्सिनाले महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाममा रहँदा विमलसँग भएको भेट र उनका प्रवचनको स्मरण गरे। उनले विमलका रचनामा अभिव्यक्त सामाजिक तथा सांस्कृतिक मूल्यले मानिस र समुदायबीचको सम्बन्ध बलियो बनाउने काम गरेको बताए।

विमलका शिष्य एवम् सहायक क्याम्पस प्रमुख डा. कमलेशकुमार कर्णले उनको प्राध्यापन शैलीको स्मरण गर्दै गुरुका रूपमा विमलले विद्यार्थीमा साहित्यिक चेतना र सामाजिक दृष्टिकोण विकास गराएको बताए।

कार्यक्रममा नेपाली विभागका सदस्यहरू शोभा चापागाईं बराल, डा. महानन्द जोशी, विष्णु ज्ञवाली र डा. शारदादेवी लामिछानेलगायतले पनि विमलको सिर्जनात्मक शक्ति र सामाजिक प्रभावको चर्चा गरेका थिए।

विभागीय सदस्य डा. हेम भण्डारीको सभाध्यक्षतामा आयोजित कार्यक्रममा वक्ताहरूले विमलको साहित्यिक यात्रासँगै उनले समाजलाई जोड्न खेलेको भूमिकाको चर्चा गरे।

वक्ताहरूका अनुसार विमलको समाज जोड्ने दृष्टिकोण उनका साहित्यिक कृतिमा पनि स्पष्ट देखिन्छ। उनको चर्चित कथा ‘लंकाकाण्ड’ यसको एउटा उदाहरण हो।

पहाडी बाबु र मधेशी आमाबाट जन्मिएको पात्रमार्फत उनले जातीय तथा क्षेत्रीय विभेद, ‘पहाडे–मधेशी’ पहिचानको द्वन्द्व र त्यसले मानिसको जीवनमा पार्ने असरलाई चित्रण गरेका छन्। मधेश आन्दोलनको पृष्ठभूमिमा दुवै पक्षबाट घाइते बनेको पात्रमार्फत कथाले विभाजनकारी पहिचानभन्दा माथि उठेर मानवता र राष्ट्रिय एकताको पक्षमा उभिनुपर्ने सन्देश दिन्छ।

उनको साहित्यिक यात्रा पनि बहुभाषिक र बहुसांस्कृतिक थियो। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषाका ज्ञाता विमलले यी भाषाबीचको दूरी घटाउने काम गरेको वक्ताहरूको भनाइ छ।

मैथिली भाषाको विकासका लागि मैथिली विकास कोषको संस्थापक अध्यक्षका रूपमा भूमिका निर्वाह गरे भने नेपाली भाषामा विभिन्न कृति लेखेर नेपाली वाङ्मयलाई पनि समृद्ध बनाए।

१२ वर्षको उमेरमा ‘आर्यावर्त’ हिन्दी दैनिकमा उनको पहिलो लघुकथा प्रकाशित भएको थियो। १५ वर्षमा प्रकाशित ‘कचनार के पेंड’ कथा चर्चित बन्यो। ‘मिथिला मिहीर’ मा ‘मुईल बच्चा’ कथा पनि सोही उमेरमा प्रकाशित भएको थियो। पछि ‘गोरखापत्र’, ‘पञ्चवाणी’, ‘बैदेही’ लगायतका पत्रपत्रिकामा उनी नियमित लेख्न थाले।

‘बन्धनबाट मुक्ति’, ‘लंकाकाण्ड’, ‘नवनीत नेपाल परिचये’, ‘राजेन्द्र विमलका कथाहरू’लगायतका उनका कृतिले साहित्यमा उनको उपस्थितिलाई स्थापित गरेका छन्।

प्रकाशित: २९ साउन २०८३ १७:२१ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast