रसुवा बाढी : उद्धारका लागि ११ हेलिकप्टर परिचालन, धुन्चेमा प्रभावितको बसोबास व्यवस्था

हिमाल प्रेस १० भदौ २०८३ १२:४९ | Wednesday, August 26, 2026
रसुवा बाढी : उद्धारका लागि ११ हेलिकप्टर परिचालन, धुन्चेमा प्रभावितको बसोबास व्यवस्था

काठमाडौँ- तिब्बतमा हिमताल फुटेपछि आएको भीषण बाढीले रसुवाको टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बाढीको पछिल्लो अवस्था, उद्धार तथा राहत व्यवस्थापनबारे जानकारी सार्वजनिक गरेका छन्।

मन्त्री पुनका अनुसार बाढीका कारण रसुवामा कुल २०० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरूमा पूर्ण क्षति पुगेको छ। बाढीले मानव बस्ती तथा पूर्वाधारमा समेत ठूलो असर पारेको जनाइएको छ।

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सरकारले ११ वटा हेलिकप्टर परिचालन गरेको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीसमेत घटनास्थलतर्फ परिचालन गरिएको छ।

बाढीका कारण घाइते भएकाहरूलाई उपचारका लागि त्रिशुली जिल्ला अस्पताल ल्याउने काम भइरहेको छ। प्रभावित तथा विस्थापितहरूका लागि धुन्चेमा बसोबासको व्यवस्था गरिएको मन्त्री पुनले बताएका छन्।

यसैबीच, माथिल्लो तटीय क्षेत्रमा बाढीको बहाव घट्दै गएको जनाइएको छ। बाढीको बहाव भने मुग्लिन क्षेत्रतर्फ पुग्न लागेको बताइएको छ। त्यसलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको छ।

सरकारले उद्धार, राहत तथा विपद् व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गरिसकेको मन्त्री पुनले जानकारी दिएका छन्।

तत्काल प्राथमिकता प्रभावितको उद्धार, घाइतेको उपचार र विस्थापितलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने रहेको छ।

प्रकाशित: १० भदौ २०८३ १२:४९ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast